मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

इजरायल घटना : आनन्दको मृत्युकाे शोकमा सिङ्गो गाउँ

इजरायल घटना : आनन्दको मृत्युकाे शोकमा सिङ्गो गाउँ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । ‘म जीवनमा एक करोड वृक्षरोपण गर्ने संकल्प गर्छु, गाउँमा ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन नाममा अक्सिजन उद्योग खोल्छु । एउटा सुविधा सम्पन्न अस्पताल बनाउँछु जस्मा कसैलाई विभेद हुने छैन’, गत भदौमा इजरायल जानुअघि धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस हो यो । मनभरी गाउँको विकासको ठूलो सपना बोकेर इजरायल पुगेका उनको यो सपना अब कहिल्यै पूरा हुने छैन ।

‘टु लर्न टु वर्क’ भिसा अन्तर्गत कृषि तालिमका लागि इजरायल गएका उनले इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी ज्यान गुमाए । इजरायलमा मारिएका दश नेपालीमध्येका एक धनुषा सपहीका साहको मृत्युसँगै तीन बहिनी, बुबाआमा र हजुरआमासँगै सिङ्गो गाउँ यतिबेला गहिरो शोकमा डुबेको छ ।

पुत्रवियोगमा आनन्द साहका पिता सोमन साहको आँशु रोकिएको छैन भने आमा शुभकली साहको बोली बन्द भएको छ । लहलाउँदो लक्का जवान छोराको मृत्युको खबर सुनेसँगै बुवा सोमन र आमा शुभकलीलाई गहिरो शोकमा डुबाएको छ । ७० वर्षीया हजुरआमा बसमतियादेवी, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साह पनि पीडामा छन् । कान्छी बहिनी आरतीलाई स्लाइन पानीसहित राखिएको छ ।

गाउँलेहरुले उनीहरुलाई सम्झाउँदै चित्त बुझाउने प्रयास गरेपछि होसमा आउने परिवारका सदस्यमा रुवाबासी रोकिएको छैन । गाउँका सबैजसोको आँखा रसाएको छ । बुबा सोमन होसमा आउने वित्तिकै छाती ठोक्दै विलाप गर्छन् । इजरायल जानुअघि हजुरआमा बसमतियाले घर बनाऊ, बिहे गर भनेर आनन्दलाई भनेकी थिइन् । ‘म पढाइ सकेर फर्किएपछि ठूलो घर बनाउँछु, अनि बिहे गरेर बुहारी भित्राउँछु । तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए’, हजुरआमा–नातिबीचको संवाद सुनेका काका मिथिलेशले भने ।

कक्षा ५ सम्म लक्ष्मीनिया गाउँपालिकास्थित स्थानीय अक्सफोर्ड अङ्ग्रेजी स्कुलमा पढेका आनन्द कक्षामा सधैँ प्रथम हुन्थे । जनकपुरधामको एन्जल्स स्कुलबाट एसएलसी र मिट क्याम्पसबाट प्लस टु गरेका उनले पूर्णछात्रवृत्तिमा बिएससीएजी पढेका थिए । बिएससीएजीको पढाइपछि आनन्द पाँच महिनाका लागि इन्टर्नसिपमा डडेलधुरा गएका थिए । त्यहाँबाट उनले इजरायल जाने निधो भयो । घरबाट बिदा हुँदै गर्दा आनन्दले आमालाई कृषि तालिम सकेर चाँडै घर फर्किने बचन दिएका थिए । अन्तिम पटक एक साताअघि आमासँग कुरा गर्दा पनि उनले उही कुरा दोहोर्‍याउँदै भनेका थिए, ‘पीर नगर्नु आमा, म चाँडै आउँछु ।’

लक्ष्मीनिया गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार साहका अनुसार दुई दिनअघि शुक्रबार आनन्दसँग उनका बहिनीहरूले फोनमा कुराकानी गरेका थिए । तर त्यो दिन आनन्दको आमाबुवासँग कुरा हुन पाएन । साहले भने, ‘शनिबार आमाबुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमाबुबाले शनिबारदेखि नै फोन गरे पनि घण्टी बजेको छ तर आइतबारसम्म पनि फोन उठेन ।’

शनिबार इजरायलमाथि हमासको हमलाको खबर आयो । लगत्तै केही नेपाली घाइते पनि भएको समाचार बाहिरिएपछि परिवारमा छटपटि बढ्यो । इजरायलमा हमला भएको दिन शनिबार नै आनन्दका दिदीले फोन गरेकी थिइन् । तर, फोनको घण्टी बजे पनि उठेन । पटक–पटक प्रयास गर्दा पनि फोन नउठेपछि मनमा चिसो पस्यो । छटपटी झनै बढ्यो । आइतबार पनि उनको फोनमा घण्टी जाने तर फोन उठेन । आइतबार साँझ १० जना नेपाली विद्यार्थीमा आनन्दको पनि मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरे ।

आइतबार बेलुका परराष्ट्र मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको पछिल्लो लडाइँमा मारिएका नेपालीको नाम सार्वजनिक गर्दा आनन्दको नाम सातौँ नम्बरमा थियो । मृतकको सूची हेर्ने वित्तिकै परिवारमा रुवाबासी चल्यो । बुवाआमासँगै सारा परिवार अझै अर्धचेत अवस्थामा छन् । आनन्दको मृत्युको खबरले उनको परिवारसँगै सिङ्गो गाउँ शोकमा डुबेको छ । ‘कमाउने बेलाको छोरा बित्यो, यहाँभन्दा बढी पीडा के हुन्छ रु’, बुवा सोमन साहले भने, ‘अब राज्यले छिटोभन्दा छिटो शव ल्याइदिओस भन्ने भन्ने कामना छ ।’ रासस