मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

इजरायलमा रहेका नागरिकको उद्धार र स्वदेश फिर्तीका लागि सर्वदलीय बैठक जारी

इजरायलमा रहेका नागरिकको उद्धार र स्वदेश फिर्तीका लागि सर्वदलीय बैठक जारी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् ।

सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री दाहालले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक पनि बोलाएका छन् । बैठकमा सोही विषयमा छलफल भइरहेको छ । नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्री दाहालले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन् ।

प्रधानमन्त्री दाहालले इजरायल–हमास युद्धले निम्त्याएको सङ्कट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गरेका हुन् ।

सो सन्दर्भमा प्रधानमन्त्री दाहालले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्री दाहालले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका थिए ।

इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे यकिन गर्न र उनीहरूको उद्धार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्री दाहालले बालुवाटारमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री, उपप्रधानमन्त्री एवम् गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र मनत्रालयका सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए ।

सो बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सम्मिलत एक र्‍यापिड एक्सन टीम गठन गरेको थियो । नेपालीको उद्धार र फिर्तीसम्बन्धी आवश्यक गृहकार्यका लागि उक्त टीमको बैठक बसिरहेको छ ।

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत सङ्कलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ ।
यसैबीच, इजरायलमा जारी पछिल्लो द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक अहिले मन्त्रालयमा बसिरहेको छ ।

नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने छ ।