मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा संसद्को रुलिङका सम्बन्धमा धारणा राख्दै उनले दलहरुबीच यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिए।

“अवैध सुन तस्करीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ। सहमतिअनुसार आयोग बनाउने प्रक्रिया बढेको छ”, उनले भने।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक हमलालाई सरकारले गम्भीर रुपमा लिएको जनाउँदै आक्रमणकारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने बताए।

“यसप्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध छ”, उनले भने।

प्रधानमन्त्री दाहालले कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा समयमै उपचार नपाएर बालिकाको मृत्यु भएको घटनामा दोषी देखिएमा कारबाहीको दायरामा ल्याइने बताए। उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास दिलाए।

यही भदौ १८ गते बेलुकी उपचारका लागि पुगेकी मकवानपुर स्थायी ठेगाना भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिसा गोपालीको आकस्मिक कक्षमा समयमै उपचार नपाएर मृत्यु भएको थियो ।

घटना सार्वजनिक भएलगत्तै अस्पतालबाट पाँच दिनको समयावधि प्रदान गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएकामा समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको उनले सदनलाई जानकारी गराए।

प्रधानमन्त्रीले संसदमा न्यूयोर्क भ्रमणबारे दिएको वक्तव्यको पूर्णपाठ

सम्माननीय सभामुख महोदय,

छिमेकी मित्रराष्ट्र चीनका प्रधानमन्त्री महामहिम श्री ली छियाङ्को मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी न्यूयोर्क प्रस्थान गर्नुअघि यस सम्मानित संसदलाई जानकारी गराउन म यहाँ उपस्थित भएको छु ।

सभामुख महोदय,

संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने प्रचलन रहिआएको यस सम्मानित संसदलाई अवगत नै छ । यही प्रचलनअनुरूप संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी भई सम्बोधन गर्नका लागि विश्व संस्थाका महासचिवबाट निमन्त्रणा प्राप्त भएको छ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयहरूलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरका रूपमा लिएको छु ।

यसैगरी यसवर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीहरू, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्ध लगायतका संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूका साझा चासो एवं सरोकारका विषयहरूमा गहन रूपमा छलफल हुने गरी Sideline मा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरूमा सहभागी हुनसमेत मलाई निमन्त्रणा प्राप्त भएको छ ।

यस वर्षदेखि अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणाहरू राख्नुपर्ने जिम्मेवारी हामीलाई आएको छ ।

यसका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भाद्र ३० मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कतर्फ जाने मेरो तयारी रहेको छ । भ्रमणको लागि यथाशक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ ।

सभामुख महोदय,

यस वर्ष १८ देखि २६ सेप्टेम्बरसम्म चल्ने संयुक्त राष्ट्रसंघको यस ७८ औँ महासभाको उच्चस्तरीय सत्रमा हुने General Debateको विषय “Rebuilding Trust and Reigniting Global Solidarity: Accelerating Action on the 2030 Agenda and its Sustainable Development Goals towards Peace, Prosperity, Progress and Sustainability for AllÆ ” रहेको छ र असोज ४, २०८० (तदनुसार २१ सेप्टेम्बर २०२३) मा महासभालाई नेपालको तर्फबाट मैले सम्बोधन गर्ने गरी कार्यक्रम तय भएको छ ।

सो अवसरमा नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने, अति कम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीहरूबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने, अल्पविकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्दै आएका विशिष्ट चुनौतीहरूबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय मुलुकमा परेको गहिरो र दूरगामी प्रभावहरूलगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।

महासभाका दौरान आयोजना हुने Financing for Development, Pandemic Prevention, Preparedness and Response, Universal Health Coverage लगायतका विषयमा हुने उच्चस्तरीय बैठकहरू एवं संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गर्नुहुने Climate Action Summit मा समेत सहभागी भई नेपालको धारणा राख्ने तयारी नेपालले गरेको छ ।

यही असोज १ र २ मा आयोजना हुने High Level Political Forum on Sustainable Development, (SDG Summit) मा समेत अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्ष राष्ट्रको हैसियतमा मैले सम्बोधन गर्ने कार्यक्रम छ ।

उक्त मञ्चमा अति कम विकसित मुलुकहरूले भोग्नुपरेका साझा समस्या तथा चुनौतीहरू, सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न आइपरेका व्यवधानहरू एवं विकासोन्मुख मुलुकका रूपमा स्तरोन्नति हुन लागेका नेपाल जस्ता मुलुकहरूले दिगो विकास एवं समृद्धिको पथमा अग्रसर रहिरहन आगामी दिनमा चाल्नुपर्ने साझा कदमका विषयमा केन्द्रित रही मैले आफ्ना भनाइहरू प्रस्तुत गर्ने योजना बनाएको छु ।

सभामुख महोदय,

यस ७८ औँ महासभाको Sidelines मा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस (H E Antonio Guterres) लगायत विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । यी भेटवार्ताहरूमा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल गर्ने योजना छ ।

यसैबिच असोज २ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति महामहिम Joseph Biden ले आयोजना गर्नुहुने जलपान कार्यक्रममा समेत सहभागी हुने तय भएको छ ।

सम्माननीय सभामुख महोदय,

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात् असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिका बीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो ।

नेपाल र चीनबीच सदियौँदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रही आएको छ र हालैका वर्षहरूमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको छ । चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गीण विकासको प्रयासमा सहयोग गर्दै आएको छ ।

नेपालको प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु ।

हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । सोही दिन म १९ औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु । त्यस्तै २५ सेप्टेम्बरमा बेइजिङमा समकक्षी महामहिम ली छियाङ्सँग मेरो भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ ।

त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ्ग महानगरपालिकामा रहेको छोङछिङ्ग एकेडेमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

छोङछिङ्गको भ्रमण पश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको ब्यहोरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।

कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनका साथै नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ ।

भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।

नेपालको प्रधानमन्त्रीको हैसियतमा मैले गर्ने छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ठ र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु ।

साथै, संघीयता लागु भएपछिको दोस्रो आम निर्वाचनपश्चात् बनेको सरकार प्रमुखको हैसियतमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने एवं शान्ति, दिगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास मैले लिएको छु ।

अन्त्यमा,
म केही समसामयिक विषयमा प्रस्ट पार्ने अनुमति चाहन्छु । अवैध सुन तस्करीको सम्बन्धमा सिआइबीले अनुसन्धान टुङ्गाइ प्रतिवेदन बुझाइसकेको छ ।

यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।

यसैगरी नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रूपमा लिएको छ। आक्रमणकारीलाई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराउँदछु । यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिबद्ध छ । धन्यवाद ।