मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री

सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् ।

जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृतिसभालाई सम्बोधन गर्न शनिबार गोरखा आइपुगेका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्दै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा हुन अझै पनि बाँकी रहेको बताए । “जनयुद्धका क्रममा उठाएका सबै मुद्दा पूरा भइसकेका छैनन्”, उनले भने, “शान्तिपूर्ण ढङ्गबाट बाँकी रहेका मुद्दालाई स्थापित गर्दै जाने दृढ सङ्कल्पका साथ लागिरहेका छौँ ।”

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए । “यसपटक सरकारको नेतृत्वमा पुगेपछि मैले नै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदलाई राष्ट्रिय सहिदको घोषणा गरिसकेको छु”, उनले भने, “राजपत्रमा प्रकाशित गरी सहिद घोषणा र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणाले जनयुद्धलाई सम्मान गर्ने वातावरण बनेको छ ।”

प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पूरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनेतर्फ सरकार लागि रहेको बताए । उनले सत्यनिरुपण तथा बेपत्तासम्बन्धी विधयेक पारित भएपछि देशभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुनेसमेत उल्लेख गरे ।

विसं २०५६ भदौ २३ गतेका दिन बिरामी अवस्था रहेका नेता वाग्लेलाई पार्टी कामका सिलसिलामा रहेका बेला साविकको गोरखाको गाँखु गाविसमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको थियो । विसं २०४७ देखि शिक्षण पेसा छोडेर कम्युनिस्ट राजनीतिमा होमिएका नेता वाग्ले माआवादीले जनयुद्धको थालनी गरेसँगै भूमिगत भएका थिए ।

सत्र वर्ष शिक्षण सेवामा बिताएका नेता वाग्ले पार्टीभित्र वैचारिक, साङ्गठनिक र दृढ सङ्कल्प भएको नेताका रुपमा चिनिन्थे । गोरखाको आपँपिपल गाविसको रातडाँडा भन्ने ठाउँमा विसं २०१० भदौ २४ गते जन्मिएका नेता वाग्ले सानैदेखि विद्रोही स्वभावका थिए । उनी जनयुद्धका क्रममा मारिने पार्टीको सबैभन्दा उच्च तहको नेता थिए ।