मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रत्ननगर नगरपालिकामा नगरवासीको गुनासो कम, सुझाव बढी

रत्ननगर नगरपालिकामा नगरवासीको गुनासो कम, सुझाव बढी

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रत्ननगर नगरपालिकाको शनिबार सम्पन्न आर्थिक वर्ष २०७९/८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले नगरको विकासको लागि सुझाव दिएका छन् । एक वर्षभित्र भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव संकलनको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।

नगरकार्यपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरवासीले गुनासोभन्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई विकास निर्माण, सुशासन प्रवर्द्धनका विषयमा सुझाव दिएका छन् । नगरवासीहरुले फोहोरको उचित व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, कृषि तथा पशुपालनमा अनुदान वितरण, फोरलेन सडकको व्यवस्थापन, लागूऔषध नियन्त्रण, विद्यालयमा दिवा खाजाको अनुगमन, सौराहाको पर्यटन प्रवर्द्धनलगायतका विषयमा गुनासोसँगै समाधानका उपायबारेमा रायसुझाव दिएका हुन् ।

कार्यक्रममा सहभागी अधिकांश नगरवासीले स्थानीय सरकारको लगानी अर्थपूर्ण रहेको भन्दै देखिने ठाउँमा लगानी गर्न आग्रह गरेका छन् । कार्यक्रममा स्वावलम्बन टोल विकास संस्थाका अध्यक्ष युगबहादुर थापाले मेयर प्रलाद सापकोटाको नेतृत्वको जनप्रतिनिधिको टिमले विकास निर्माण र सुसाशनको क्षेत्रमा अर्थपूर्ण काम गरिरहेको बताए ।

कृषि र पशुपालनको माध्यमबाट नगरवासीलाई आत्मनिर्भर बनाउने योजनाअनुरुप वितरण गरिएको अनुदान सार्थक बनेको उनको भनाइ थियो । उनले विकास निर्माण स्थलमा योजनाको विवरणसहित देखिनेगरी बोर्ड राख्न पनि सुझाव दिए ।

रत्ननगर—१३ का लक्ष्मण पौडेलले फोहोर व्यवस्थापन, सुकुमबासीलाई लालपूर्जा वितरण, सीपमूलक तालिम, सामुदायिक विद्यालयमा भइरहेको राजनीति तथा घरेलु मदिराको उत्पादनमा रोक लगाउन आग्रह गरे ।

युवा नेता दीपक थापाले नगरपालिकाले सञ्चालन गरेको विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा र रत्ननगर बकुलहर अस्पतालमा सञ्चालन गरेको विपन्न नागरिक उपचार कोष प्रभावकारी रहेको बताउँदै कोषको रकम वृद्धि गरी ६० लाख रुपैयाँ पु¥याउन आग्रह गरे ।

कार्यक्रममा परशुराम शर्मा, शिव सुवेदी, वसन्त राना, मीना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, पार्वती घिमिरे, पूर्णबहादुर आलेमागर, प्रलाद ठाकुर, मणिप्रकाश खतिवडा, कृष्ण पौडेल, शम्भुभक्त थपलिया, वीरन्जना घिमिरेलगायतले नगरभित्र भइरहेका विकास निर्माणको सरहना गर्दै सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका थिए ।

नागरिकको गुनासो र सुझाव सुनेपछि मेयर प्रलाद सापकोटाले पर्यटकीय नगरी सौराहालाई शिरमा राखेर रत्ननगरलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी विकासको गतिलाई अगाडि बढाएको बताए । ‘कृषि र पशुपालनको लागि पर्याप्त अनुदान दिएका छौँ, शिक्षा र स्वास्थ्यमा नागरिकको अपेक्षाअनुसार काम गरेका छौँ’, उनले भने, ‘विरोधका लागि विरोध नगरौँ, हामी काम गर्न आएका हौँ, नागरिकको अपेक्षाअनुसार सबै काम गर्दैछौँ ।’

उनले सौराहाको विकासको लागि एक वर्षमा ४० करोड रुपैयाँ बढी लगानी भइसकेको जानकारी दिए । सौराहाको मुख्य बजारमा ढल, सौराहालाई बाढीबाट जोगाउन फेब्रिक ड्याक र १४ करोड २४ लाख रुपैयाँको लगानीमा नमुना सडक निर्माण भइरहेको मेयर सापकोटाले बताए ।

स्वास्थ्यतर्फ रत्ननगर अस्पताल परिसरमा मातृशिशु अस्पताल सञ्चालनको लागि भवन निर्माण, ३ हजार २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा, ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा रहेको मेयर सापकोटाले बताए । मेयर सापकोटाले कृषि र पशुपालनको विकासको लागि चालु आर्थिक वर्षमा मात्र चार करोड रुपैयाँ अनुदान वितरण गरिएको बताए ।

कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले विकास निर्माणको गुणस्तरका लागि नगरपालिकाले कसैसँग सम्झौता नगर्ने बताए । विकास निर्माणमा नगरवासी पनि सचेत हुनुपर्ने भन्दै उनले काम बिग्रिन थाले नागरिकस्तरबाट पनि खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले चालु आर्थिक वर्षमा भएका कामकाबाही तथा उपलब्धिबारे प्रकाश पार्दै नागरिकको सुझाव र अपेक्षाअनुसार काम भइरहेको बताए ।

कार्यक्रममा आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले नगरवासीले राखेका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा नगरस्तरीय राजनीतिक दलका प्रमुखहरुले नगरको लगानीलाई अर्थपूर्ण बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा संस्थापक नगरप्रमुख नारायण वन, पूर्वउपमेयर विमला दुवाडी, नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल, नेकपा (एमाले)का नगर अध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष श्याम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण अधिकारी, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, नेकपा एसका नगर सचिव ईश्वरीराज अधिकारी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेलगायतले मन्तव्य राखेका थिए ।

विप्स मिडियाले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पत्रकार ध्रुवराज खनालले गरेका थिए ।