मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसदमा विरोध

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसदमा विरोध

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले)सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो ।

तर, प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलहरुले नागरिकता विधेयकको कुरा उठाएर संसद् अवरोध गरेका हुन् । नागरिकता विधेयकलाई संसदीय प्रक्रियाबाटै पारित गरिनुपर्ने एमाले, रास्वपा र राप्रपाको माग छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रियाअनुसार नागरिकता विधेयक संसदमा प्रस्तुत हुनुपर्ने र त्यसलाई एक हप्ताभित्रै पारित गर्न सक्नेगरी संसद् चलाउनुपर्ने बताए ।

“प्रमाणीकरण गरिएको भनिएको नागरिकता विधेयक निष्क्रिय राखियोस् । नयाँ संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरियोस् र एक हप्ताभित्र घनीभूत ढङ्गले छलफल गरेर नागरिकताविहीनलाई नागरिकता दिने प्रबन्ध गरियोस्”, गिरीले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता दिनु राज्यको दायित्व भए पनि नागरिकता विधेयक प्रमाणीकरण गर्दा त्यसको विधि र प्रक्रिया नमिलेको बताए । “धेरै नागरिकले नागरिकता नपाएर उनीहरुलाई परेको समस्याबारे हामीलाई थाहा छ । तर, यो गम्भीर परिस्थितिमा सरकारले विधेयक प्रमाणीकरण गर्दा विधि र प्रक्रिया बाहिर गएको हामी स्वीकार गर्दैनौँ”, उनले भने, “नागरिकता विधेयक राजनीतिक विषय हो । यो नेपालको सुरक्षा, मानव अधिकार र भूराजनीतिकसँग जोडिएको विषय हो ।”

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्लेनले राष्ट्रपति कुनै दल विशेष र सरकारको आदेशमा चलेको बताए ।

“राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा र आज्ञापालक होइन । दलको निर्देशनमा चलेको राष्ट्रपति संस्थाको औचित्यको प्रश्न छ”, उनले भने, “जुन प्रक्रिया र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो, त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्तसना र विरोध गर्दछ । हामी चाँडोभन्दा चाँडो त्यसलाई प्रक्रियामा ल्याएर संसदबाट अगाडि बढोस् भन्ने चाहान्छौँ ।”

लिङ्देनले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट भएको आममाफीका विषयमा पनि प्रश्न उठाएका थिए ।