मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा

व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताएकी छन् । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताइन् ।

“व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन । व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार हुनुहुँदैन । व्यक्ति र कमजोरी परिवर्तन गर्न सकिन्छ । यसका लागि सञ्चार माध्यम र राजनीतिकर्मीहरूको दायित्व साझा छ, राजनीतिक स्वतन्त्रताका लागि जे भनेर उपलब्धि प्राप्त गर्यौं, त्यो प्यारो छ”, उनले भनिन् ।

गणतन्त्रमा नागरिकले अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नु नै महत्त्वपूर्ण हो भन्दै उनले भनिन्, “उपलब्धिको रक्षा हाम्रो दायित्व हो । गणतन्त्र, लोकतन्त्र र समावेशिताले ठूलो उपलब्धि हासिल गरेको छ । एलिट वर्गको सिन्डिकेट तोडिएको छ ।”

मन्त्री शर्माले रेडियो सगरमाथाले लोकप्रियता कायम गर्न सकेकोमा शुभकामना व्यक्त गर्दै यस सञ्चार माध्यमबाट सञ्चालित कार्यक्रमबाट धेरै लाभदायक भएको बताइन् । उनले सूचना र सञ्चारको भरपर्दो साधन रेडियोलाई दीगो बनाउन श्रोताको अपेक्षाअनुसार प्रतिस्पर्धी कार्यक्रम बनाउन आग्रह गर्दै नयाँ प्रविधिको विकासअनुसार अगाडि बढ्न सफलताको शुभकामना व्यक्त गरिन् । उनले रेडियोका कार्यक्रम सबैले सुन्न लायक भयो भने राम्रो हुने र लोकप्रिय हुने उल्लेख गरिन् ।

नयानब्बे वर्षीय अग्रज पत्रकार भैरव रिसालले रेडियो सगरमाथा भाग्ला है भनेर श्रोताले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाज विकासका लागि रेडियोले खेलेको भूमिका अतुलनीय भएको बताए । उनले भने, “रेडियो सगरमाथा सामुदायिक रेडियोमध्येको उत्कृष्ट रेडियो हो । सामुदायिक रेडियोको दीगोपनका लागि आमसञ्चार नीतिमा समेट्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मिडियालाई नयाँ चुनौती रहेको बताइन् । उनले रेडियो सगरमाथालाई समुदायको आवाज बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै सूचनाको हकसँग जोडिएर सूचना प्रवाह गर्न आग्रह गरिन् ।

शाक्यले सरकार र सञ्चार माध्यमको बीचमा समन्वय भएर नागरिकलाई सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्र सेवाकालीन व्यवसाय भएकोले समुदायलाई हित हुने कार्यक्रम सञ्चालन गर्न जरुरी रहेकोमा जोड दिइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामुदायिक रेडियोको समस्या धेरै भएको बताउँदै भइरहेका संरचना र नीति नियमबाट सामुदायिक रेडियो बचाउन के के गर्न सकिन्छ, त्यो गर्न काउन्सि तयार रहेको धारणा राखे । शिक्षा समन्वय एकाइ ललितपुरका प्रमुख निम सिंह राठौरले सकारात्मक किसिमका समाचार प्रसारण गरेर बालबालिकाको शैक्षिक र ज्ञानमूलक क्षमता अभिवृद्धि गर्न आग्रह गरे ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले रेडियोको नेतृत्व र व्यवस्थापनमा महिला हुनु खुसीको कुरा भएको बताइन् । वार्षिकोत्सवमा मन्त्री शर्माले ९६ वर्षीय अग्रज पत्रकार रिसालसहित सगरमाथा रेडियो योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरे । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्ज विसं २०५४ साज जेठ ९ गतेदेखि सञ्चालन हुँदै आएको छ । रासस