मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

हिमालय खबर

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा कुल ११८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत खराब रह्यो । नेपालले आठ ओभर खेल्दा सुरुआती तीन विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल एक, आशिफ शेख आठ तथा कप्तान रोहितकुमार पौडेल मात्र एक रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

सङ्कटमा परेको नेपालको पारी गुलसन झा र भीम सार्कीले उकासे । दुबै जनाबीच ९६ रनको साझेदारी रह्यो । झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए । यस क्रममा झाले ८४ बल खेल्दै छ छक्का र तीन चौका प्रहार गरे । यस्तै सार्कीले ७१ बल खेल्ने क्रममा चार चौका हाने ।

बलिङतर्फ युएईका लागि रोहन मुस्ताफाले दुई तथा आयान अफ्जल खानले एक विकेट लिए ।

यसअघि सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । उसका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।

सोमबार यूएईले २७ दशमलव ३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । फाइनल खेलका लागि रिजर्भ डे राखिएकाले सोमबारको खेलको निरन्तरता मंगलबार भएको हो ।