मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

गर्मीले बेहाल भैरहवा, देशकै उच्च तापमान

गर्मीले बेहाल भैरहवा, देशकै उच्च तापमान


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

भैरहवा । वैशाखको पहिलो साता नै भैरहवा तथा यस क्षेत्रका आसपासको तापमान ४२ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । वैशाखमै तापक्रम बढ्दै जाँदा तराईमा गर्मी बढ्दो रहेको छ । मंगलबार नेपालमै सबैभन्दा बढी गर्मी भैरहवामा मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिनअनुसार भैरहवाको अधिकतम तापमान ४१ दशमलव सात डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै नेपालगञ्जको ४० दशमलव पाँच र सिमराको ३९ दशमलव नौ डिग्री सेल्सियस मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन वर्षा हुने सम्भावना कम रहेकाले अधिकतम तापक्रमले निगरानी, सर्तकता वा चेतावनीको सीमा पार गर्ने सम्भावना रहेको जनाएको छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन शाखाले अनुरोध गरेको छ ।

गर्मीका कारण भैरहवा तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् । मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । भैरहवाको पारो चढ्दै जाँदा दैनिकरूपमा गरी खाने वर्गलाई समस्या पर्न थालेको छ ।

चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किन समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।

भीम अस्पताल भैरहवामा गर्मीका कारण अस्पतालमा आउने बिरामीको चाप पनि बढ्दै गएको छ । सामान्य अवस्थामा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण दैनिक चार सयसम्म बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी डा आरिफ हुसेनले बताए । उनले अधिकांश झाडा पाखाला, वान्ता र भाइरल खोकीका बिरामी अस्पताल आउने गरेको बताए ।

अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायतको समस्या देखिएका कारण उनीहरूलाई झोलिलो पदार्थ खान दिन हुुसेनले आग्रह गरेका छन् । हुसेनले बालबालिका मात्र नभई अन्यलाई पनि दिउँसोको समयमा घाममा नहिँड्न र अतिआवश्यक कामले हिँड्न परेमा छाता प्रयोग गर्ने, लामबाहुले लुगा लगाउन तथा प्रशस्त झोल पदार्थ खान आग्रह गरेका छन् । रासस

शेयर गर्नुहोस:

189
Shares