काठमाडौँ । नवनियुक्त सहरी विकासमन्त्री सीता गुरूङले मन्त्रालयको कामलाई परिणाममुखबी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
सिंहदबारस्थित मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताइन् ।
मन्त्री गुरूङले स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रसँग मिलेर काम गरेर नै परिणाम प्राप्त हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “मन्त्रालयको काम गर्ने धेरै ठाउँ छ । ग्रामीण भेगसम्म पुगेर भौतिक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता छ ‘टीम वर्क’का साथ परिणाम निकाल्ने गरी काम गर्न सबै केन्द्रित हुनुपर्छ ।” मन्त्री गुरूङले क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
को हुन् मन्त्री गुरूङ ?
सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेकी मन्त्री गुरुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । उनी कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पनि हुन् । मन्त्री गुरूङ गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट विजयी भएकी थिइन् । पूर्वराज्यमन्त्रीसमेत रहेकी गुरूङले तत्कालीन संविधानसभा सदस्यको भूमिकासमेतमा आफूलाई अब्बल साबित गरिसकेकी छन् ।
गुरूङ सानै उमेरदेखि राजनीतिमा सक्रिय भई महिला सशक्तिकरण र महिलालाई सङ्गठित गरेर राजनीतिमा स्थापित भएकी नेतृ हुन् । साहित्यमा रुचि राख्ने गुरूङ विभिन्न आन्दोलनमा सक्रिय रहेकी छन् । कांग्रेसको विद्यार्थी राजनीतिदेखि नै क्रियाशील गुरूङ नेपाल महिला संघको तेह्रथुम अध्यक्ष हुँदै केन्द्रीय सचिव, पार्टीको महासमिति सदस्य र केन्द्रीय सदस्य बनेकी थिइन् ।
प्रतिक्रिया