मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशबाट एक लाख परीक्षार्थीले एसइई परीक्षा दिँदै

बागमती प्रदेशबाट एक लाख परीक्षार्थीले एसइई परीक्षा दिँदै

हिमालय खबर

काठमाडौँ । बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार ७३३ विद्यार्थीले परीक्षा दिँदैछन् ।

गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार ६२५ विद्यार्थी परीक्षामा सहभागी थिए ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा चैत १७ गते शुक्रबारदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिइन् । बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पुर्‍याउनेलगायतका काम भइसकेको उनले बताइन् ।

यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ । यो वर्षको एसइई परीक्षामा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार पाँच सय ७७ र सबैभन्दा कम रसुवा जिल्लाबाट छ सय २८ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

निर्देशनालयका अनुसार काठमाडौँमा १२३ र रसुवामा पाँचवटा परीक्षा केन्द्र तोकिएको छ । शान्तिपूर्णरूपमा परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको तथा परीक्षा तालिकाअनुसार चैत १७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए । प्रश्नपत्र नजिकको प्रहरी चौकी र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्‍याउने काम भइसकेको तथा सुरक्षाको व्यवस्थासमेत भइसकेको छ । रासस