मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्रतिनिधिसभामा सांसद्हरुको एउटै स्वर : मिटरब्याज पीडितको समस्या समाधान गरौँ

प्रतिनिधिसभामा सांसद्हरुको एउटै स्वर : मिटरब्याज पीडितको समस्या समाधान गरौँ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले धेरै गरिब नेपाली मिटरब्याजीको चङ्गुलमा फसेको भन्दै तत्काल मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मिटरब्याज पीडितको न्यायका लागि सरकारको ध्यानार्कषण गराए । उनले तत्काल समस्या समाधानका लागि कानुन निर्माण गर्न माग गरे । उनले सिन्धुलीमा हात्तीको आक्रमणको जोखिम बढेको भन्दै विद्युतीय तारबार गर्न माग गरे । उनले रासायनिक मलको सधैँको अभावलाई कम गर्न मल वितरणका लागि निजी क्षेत्रको सहयोग लिन सकिने बताए ।

नेकपा (एमाले)को सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताए । उनले भने, “एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन् । वित्तीय साक्षरता नभएका कारण पनि धेरै नागरिक मिटरब्याजको समस्याबाट पीडित भएका छन् ।”

नेकपा (माअ‍ोवादी केन्द्र)का सांसद हितबहादुर तामाङले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । “पूर्वी तराईबाट हिँडेर मिटरब्याज पीडित काठमाडौँ भित्र्याएको छन्, देशका हरेक भागमा मिटरब्याजको समस्या फैलिएको छ । अहिलेको व्यवस्था मन नपराउने व्यक्ति यो समस्यालाई भड्काउन सक्छन् सरकारले हिजो वार्ता टोली गठन गरेको छ, समस्याको अध्ययन गरेर समस्या समाधान गर्न सुझाव दिने विषय सकारात्मक छ, यो समस्यालाई सदाका निम्ति मुक्त गर्ने दिशातर्फ अगाडि बढ्नुपर्छ”, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतमले हवाई यात्रालाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले हवाई सेवालाई सुरक्षित बनाउन विभिन्न निकायले दिएका सुझावलाई किन कार्यान्वयन नगरिएको हो भनी प्रश्न गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् परियोजनाको काम तत्काल अगाडि बढाउन माग गरे । “आयोजना निर्माण नहुँदा गोरखा र धादिङका जनताको आशामा तुसारापात मात्र भएको छैन, राष्ट्रको समृद्धिमा नै बाधा सिर्जना भएको छ”, उनले भने । नेपालले नै सो आयोजना बनाउने भनिए पनि आयोजना सम्पन्न हुनेमा आशङ्का पैदा भएको उनले बताए ।

नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले मिटरब्याजबाट पीडित समुदाय देशका विभिन्न भागबाट १३ दिन पैदलयात्रा गरेर काठमाडौँ पुगेको भन्दै तत्काल उनीहरुको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे । “मिटरब्याज पीडितका समस्या समाधान गरेर उनीहरुलाई जतिसक्दो चाँडो घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु”, उनले भने ।

जनमत पार्टीका सांसद अनिता देवीले मिटरब्याज पीडित सरकारसँग न्याय माग्न काठमाडौँ आएको भन्दै तत्काल उनीहरुको समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् । “नागरिक बाध्यताले मिटरब्याजमा पैसा लिन बाध्य भएका हुन्, मिटरब्याजीलाई तत्काल कारबाही गर्नुपर्छ”, उनले भनिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी मिटरब्याजले पारेको प्रभावका बारेमा वर्तमान संसद् सुरु हुनेबित्तिकै आफूले त्यससम्बन्धी विषय सदनमा उठाएको र अहिले सदन तथा सरकारको ध्यान गएको बताए । “पीडित ठाउँठाउँबाट आउने क्रम बढेको छ, प्रधानमन्त्रीबाट पनि समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ, समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ”, उनले भने ।

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जीता श्रेष्ठले विलम्ब नगरी मिटरब्याजीविरुद्ध कानुन निर्माण गर्न माग गरिन् । उनले पीडितलाई न्याय दिलाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गरिन् । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्ने बताए ।