मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको बताएका छन् ।

चितवनको भरतपुरमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै उनले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गरेको छु ।”

उनले खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई बोलाएर यसको विकास, खेलाडीको भविष्य निर्माण र भविष्यमा खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर संवाद र अन्तर्क्रिया गर्दै आएको उल्लेख गरे ।

उनले भने, “यसबाट तपाइँहरूलाई प्रस्ट हुन्छ वर्तमान सरकार र यसको नेतृत्व युवाको भविष्य निर्माणमा सबैभन्दा प्रतिबद्ध र इमान्दार छ ।”

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को सहयोगमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएकामा प्रधानमन्त्री दाहालले सफलताको शुभेच्छासहित सम्पूर्ण खेलाडीको उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गरे । विसं २०३८ देखि औपचारिक रूपमा ७७ जिल्लामा नै संस्थागत संरचना निर्माण भई लाखौैँ खेलाडी आबद्ध रहेको कराते खेल देशका लागि मात्र नभएर अन्तर्राष्ट्रिय गौरवको विषयसमेत बनेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

अन्तर्राष्ट्रियरुपमा कीर्तिमान हासिल गर्न सफल कराते खेलाडीको कुम्भमेलाका रूपमा यस कार्यक्रमको आयोजना हुनुले करातेको विकास र खेलाडीको प्रोत्साहनमा महत्वपूर्ण सफलता मिल्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे । एक दशकदेखि तदर्थ समितिकै रूपमा कार्यसञ्चालन गर्दै आएको करातेको अधिवेशनको आयोजना हुनु आफैँमा गौरवको विषय भएको उनको भनाइ छ ।

कार्यक्रमका लागि राखेप सदस्य सचिव टङ्कलाल घिसिङ र करातेका संस्थापकमध्येका एक राखेपका पूर्वसदस्य सचिव युवराज लामाले लिनुभएको पहलकदमीलाई प्रधानमन्त्री दाहालले धन्यवाद दिए । उनले भने, “खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । यसको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिन्छ । आजको परिप्रेक्ष्यमा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कूटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ ।”

सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न, संस्थागत एवं संरचनागत विकास र खेलाडीको वृत्तिविकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने उहाँले बताउनुभयो । खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका निम्ति वर्तमान सरकार सबै प्रकारका सहयोग गर्न तत्पर रहेको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गरे ।