काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि हुने दुर्व्यवहार र हिंसाजस्ता दुरुत्साहनलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको बताएका छन् ।
११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले महिलामाथि दुर्व्यवहार, लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गरी अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानुनी व्यवस्था गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले अज्ञानता र कुरीतिको आड लिएर हुने खराब अभ्यासका कारण बोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेको उल्लेख गरे ।
“समाजको न्यून चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरु कायम छन् । कानुनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरुलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसका लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ”, उनले सन्देशमा भनेका छन् ।
उनले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको भन्दै ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको बताए ।
उनले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीको समान सहभागिता अत्यन्त जरुरी रहेको सन्देशमा उल्लेख गरेका छन् ।
“महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मूलतः शिक्षामा जोड दिँदै महिलाको सशक्तिकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा म हार्दिक आह्वान गर्दछु”, सन्देशमा भनेका छन् ।
अध्यक्ष ओलीले राजनीतिक अस्थिरतामार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि एमालेले अघि बढाएको अभियान कमजोर बनाउने दुष्प्रयास अहिले पनि जारी बताएका छन् ।
उनले सन्देशमा भनेका छन्, “अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्धतन्त्रलाई धराशयी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरु बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ ।”
प्रतिक्रिया