काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सही सूचना प्रवाह गर्न राससको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
उनले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सूचना सम्प्रेषण गरी नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा जोड दिए ।
राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु पनि हो । वर्तमान सरकार यही मान्यतामा अडिग छ ।”
प्रधानमन्त्री दाहालले सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर उनीहरूको अवसर एवं ज्ञानको स्रोत पनि हो भने । उनले कुनै पनि नागरिकलाई सूचनाबाट वञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर काम गर्नुपर्नेमा जोड दिए ।
नेपालको एकमात्र सरकारी सञ्चार सेवा प्रदायक संस्था राससको ६२औँ वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा समितिका सम्पूर्ण पदाधिकारी, सञ्चारकर्मी, कर्मचारीलगायत समितिमा आबद्ध सबैमा प्रधानमन्त्री दाहालले बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
उनले भने, “यस समाचार समितिले आफ्नो स्थापनादेखि नै नेपाली र अङ्ग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्बिर उपलब्ध गराउँदै आएको छ । साथै हालैमात्र तपाईहरूले नेपालका टेलिभिजन एवं डिजिटल मिडियाका लागि श्रव्य दृश्य ९भिडियो० सेवा पनि सुरू गरेकामा नेपाल सरकारको तर्फबाट म यहाँहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।”
आजको युग विज्ञान, प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग भएको तथ्य पेश गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले सिङ्गो विश्वले यसलाई चौथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गरेको उल्लेख गरे ।
“सूचना प्रविधिको यस प्रकारको तीव्र र द्रूत विकासले सञ्चार जगत्लाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवलाई समेटेको छ । अब सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा छैन, जसले आफ्नो अस्तित्व अलगरूपमा कायम गर्न सकोस्” प्रधानमन्त्री दाहालले भने, “२१औँ शताब्दीको आजको विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको छ ।”
विश्वमा सूचना र प्रविधिको द्रुत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा हामीले पनि हाम्रा सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक तथा परिमार्जित गर्न आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले पनि आफ्नो सेवालाई थप चुस्तदुरुस्त बनाउन आफ्ना सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने कामनासमेत गरे ।
प्रतिक्रिया