काठमाडौँ । नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले आइतबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपश्चात् पत्रकार सम्मेलन गर्दै पत्रकार र मिडिया क्षेत्रमाथि लाञ्छना लगाएका नेता लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली पत्रकारिता क्षेत्रले पञ्चायतकाल, २०४६, २०६२र६३ को राजनीतिक परिवर्तन गर्न ठूलो जोखिम मोलेर मुलुकको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिका सबैलाई अवगत छ । मिडियाले मुलुकमा भएका ठूला–ठूला भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् ।”
उनले विज्ञप्तिमा भनेका छन्, “आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युनियनको छ । लामिछाने जो आफैँ सञ्चारकर्मबाट जनताका मुद्दा उठाएर परिचित भएपछि मात्र यो स्थानमा पुगेका हुन् । सञ्चारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले पत्रकारितालाई दुश्मनको जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय छ ।”
सञ्चार माध्यमले प्रकाशन गरेका सामग्रीको बारेमा चित्त नबुझे कानुनी उपचारमा जानसक्ने विकल्प हुँदाहुँदै लामिछानेले सञ्चारमाध्यमकै मानमर्दन गरेको भन्दै त्यसप्रति युनियनले आपत्ति जनाएको हो । साथै एक परिपक्व राजनीतिकर्मीबाट यस्तो धम्कीपूर्ण भाषा प्रयोग भएकोमा युनियनले खेद् प्रकट गरेको छ ।
युनियनका महासचिव पौडेलले विज्ञप्तिमा भनेका छन्, “पत्रकारिताका कमी, कमजोरीलाई विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने मान्यता युनियनले राख्छ । मुलुकको नेतृत्व लिएर सुधार गर्ने प्रतिबद्धतासहित आएका राजनीतिकर्मी र सञ्चार माध्यमलाई दोषारोपण गरेर आफू चोखिन खोज्नु साह्रै दुःखद पक्ष हो । लामिछानेको नागरिकताको विषयमा सञ्चारमाध्यमले जनतासम्म सूचना पुर्याएकोमा आक्रोश पोखेको देखिन्छ ।”
अदालतको फैसलाअनुसार उनले गैरकानुनीरूपमा राखेको नागरिकता मात्रै नभएर समाजमा विद्यमान अन्य बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको विषयमा नेपाली प्रेस अझै दृढरूपमा प्रस्तुत हुने अठोटसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । विधिको शासन, लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारितामाथि आफूले विश्वास राख्ने पनि प्रेस युनियनले विज्ञप्तिमार्फत् जनाएको छ ।
प्रतिक्रिया