काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ ।
आधुनिक नेपाल एकीकरणको नेतृत्व गरेर बाइसे चौबिसे राज्यमा छरिएका भूभागलाई एकीकरणमा महत्त्वपूर्ण योगदान गरेकाले अधिकांश नेपालीले जन्मजयन्तीमा बिदाको माग गर्दै आएका थिए । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय गरेको हो ।
दोस्रो जनान्दोलन अगाडिका सरकारले जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनाका साथै उक्त दिन सार्वजनिक बिदा दिने गरेकामा विसं २०६२/६३ को राजनीतिक परिवर्तनसँगै त्यो प्रचलनको अन्त्य गरिएको थियो । आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा बिदा कटौतीको निर्णय गरेको थियो ।
साहित्यकार मोदनाथ प्रश्रित, संस्कृतिविद् डा रमेश ढुङ्गेल, पर्यटन व्यवसायी भरत बस्नेतलगायतको समूहले राष्ट्र निर्माणको गौरव तथा इतिहासलाई संरक्षण गर्नुपर्ने अभियान सञ्चालन गरेर नुवाकोटलगायत केही भत्काइएका स्थानमा सालिक पुनः स्थापना गरेको थियो ।
राष्ट्रनिर्माताका योगदानलाई महत्वहीन भएको भ्रम फैलाउँदै केही समूहद्वारा एकीकरणको औचित्यमाथि नै प्रश्न उठाउने, सालिक भत्काउनेसम्मका कार्य गरिएका थिए । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता अक्षुण्ण राख्न उहाँले निर्वाह गरेको भूमिकालाई आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले बिर्सन नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
उनले प्रत्येक वर्ष जन्मजयन्तीका दिन निरन्तर बिदाको माग गर्दै आफ्नो पार्टीले जन्मजन्तीको स्मरणका लागि विचार गोष्ठी तथा शुभकामना आदानप्रदानको सुरुआत गरेकामा सरकारले गरेको निर्णयप्रति खुसी व्यक्त गरे । इतिहासको अपव्याख्या गरेर नेपाल एकीकरणकर्ताको जन्मदिनलाई बिर्साउने गरी भएको गल्तीलाई सच्याएर नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर अङ्कित गर्न राप्रपाले माग गर्दै आएको छ ।
सो पार्टीले देशैभर रहेका सबै जिल्ला समितिलाई पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन परिपत्र गरेको छ । विसं १७७९ पुस २७ गते गोरखामा जन्मेर विसं १७९९ चैत २५ गते राजा भएसँगै उनले विसं १८०१ असोज १५ गते नुवाकोटमा आक्रमण तथा विजय गरी एकीकरणको अभियान सुरु गरेको इतिहास पाइन्छ ।
गोरखाका राजा नरभूपाल र रानी कौशल्यावतीका छोराका रुपमा जन्मिएका उनी ‘रामायण’, ‘महाभारत’ र ‘शुक्रनीति’ जस्ता ग्रन्थबाट राज्य सञ्चालनसम्बन्धी ज्ञान दिइएकाले ‘युद्वकला’ र ‘कूटनीति’ मा निपुण थिए ।
इतिहासविद्का अनुसार धनुबाण, तरवार, युद्वकला, घोडसवारी दौडमा युवावस्थादेखि नै उनको लगाव भएको पाइन्छ । नजिकका कमजोर राज्यलाई समाहित गर्दै काठमाडौँ उपत्यकालाई एकीकरणका माध्यमबाट प्राप्त गर्ने योजनाअनुसार शाह सफल भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले बताए ।
छरिएका राज्यलाई एकीकरणका माध्यमबाट पृथ्वीनारायणले आधुनिक नेपाल निर्माण गरी विभिन्न जाति र समुदायले सजिएको राष्ट्रका रुपमा विकास गरेकाले उनलाई नेपालीले सदैव सम्मान गर्नुपर्ने तथा जन्मजयन्तीलाई एकता दिवसका रुपमा मनाउन सरकारले दिएको बिदाको महत्व हुने गुरुङले विचार व्यक्त गरे । उनले भने, “कुनै पनि मुलुकको राष्ट्र निर्माताको जन्मजयन्ती मनाउने परम्परा हुन्छ, राष्ट्रपिताको तुलना अरू कसैसँग हुन सक्दैन ।”
मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँँग विवाह गरेका उनले विसं १७९८ मा काठमाडौँ आउँदा गोरखा दरबारबाट ल्याएका केही वस्तु भक्तपुरका राजा रणजित मल्ललाई उपहारका रूपमा दिएको र चाँगुनारायण, पशुपति तथा गुहेश्वरीलगायत मन्दिर दर्शन गर्ने क्रममा उपत्यकाको भूभागलाई एकीकरण गर्ने इच्छा राखेको इतिहास पाइन्छ ।
करिब २० वर्षको उमेरमा राजा भएका उनले एकीकरणका क्रममा मकवानपुर पनि कब्जा गरेक बताइन्छ । एकीकरणका क्रममा उनले विसं १८१४ देखि करिब सात वर्षसम्म तीन पटक कीर्तिपुरमा आक्रमण गरेका थिए । कीर्तिपुरवासीसँग दुई पटक पराजित भएका उनले तेस्रो पटकको प्रयत्नमा विजय हासिल गरेको बताइन्छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट सैन्य सहयोग प्राप्त गरेको कीर्तिपुरसँगको युद्धमा गोरखाली सेनाको नोक्सानी भएको थियो ।
नेपाली सेनाले केही वर्षदेखि पृथ्वीजयन्तीका अवसरमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’ गर्दै आएको छ । एकीकरणका सन्दर्भमा त्यस क्षेत्रमा प्रयोग भएको मार्गमा सेनाले पुस २० गते गोरखाबाट यात्रा सुरु गरेर धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २७ गते हनुमानढोका आइपुग्ने गरेको छ ।
विसं १८२४ असोज १५ गते गोरखाली सेनाले सिन्धुलीगढीमा इस्ट इन्डिया कम्पनी सेनासँग गरेको युद्धलाई महत्त्वपूर्ण मानिन्छ । पूर्वमा जापानदेखि पश्चिमका ल्याटिन अमेरिकी भूभागमा फैलिएको बेलायती साम्राज्यलाई रोक्न उनको नेतृत्वमा सञ्चालन भएको एकीकरण अभियानले प्राप्त गरेको सफलताले विश्व इतिहासमा गोरखालीको गौरव बढाएको थियो ।
सो स्थानमा गोरखाली सेनाले ‘किन लक’ नेतृत्वको दुई हजार चार सय अङ्ग्रेज सैनिकसँग युद्ध गरी एक हजार छ सय सैनिकलाई मारेको इतिहास छ । त्यसबेलासम्म काठमाडौँ उपत्यका एकीकरण भइसकेको थिएन ।
करिब दुई हजार पाँच सय मिटर अग्लो उक्त स्थानमा अहिले सेनाले पहिलो युद्ध सङ्ग्रहालय निर्माण गरेको छ । रु चार करोड ५० लाख खर्चमा बनेको सङ्ग्रहालयमा तत्कालीन युद्धमा प्रयोग गरिएका सैनिक पोसाक, हातहतियार, अन्य सैन्य सामग्री र त्यस युद्धमा प्रयोग भएका अरू ऐतिहासिक वस्तु तथा सामग्री सङ्कलन गरिएका छन् ।
काठमाडौँदेखि एक सय ५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढीमा निर्माण गरिएको उक्त सङ्ग्रहालयमा तत्कालीन छ शिलालेखसमेत राखिएका छन् । ती शिलालेख देवानगरीमा लेखिएका छन् र केही अस्पष्ट देखिन्छन् । विसं १८२५ मा काठमाडौँलाई एकीकरण गरेका गोरखाली सेनाले क्रमशः ललितपुर र भक्तपुरमाथि पनि विजय गरेको थियो ।
पृथ्वीजयन्तीका अवसरमा विसं २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले सार्वजनिक बिदा दिएर सिंहदरबारको मुख्य प्रवेशद्वारअगाडि रहेको शाहको सालिकमा फूलमाला चढाइएको थियो । त्यसपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः बिदा कटौती गरेको थियो ।
नेपाल चलचित्र कलाकार सङ्घका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउने परम्परालाई निरन्तरता दिने कार्यको सराहना गर्दै यस कार्यले नेपाल र नेपालीको नाम र पहिचान मिलेको धारणा राखे ।
एकीकरण अभियानमा शाहले लिएका नीति तथा राज्यलाई जोगाउन दिएका ‘दिव्योपदेश’ अहिले पनि उत्तिकै सान्दर्भिक छन् । ती उपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र शस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् । नेपाल चार जात ३६ वर्णको फूलबारी भएको जनाउँदै उनले घूस लिने र घूस दिने दुवै अपराधी भएको नारालाई अघि बढाएका थिए ।
प्रतिक्रिया