मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जसले युवतीको अस्मिता जोगाउन खुकुरी नचाए..

जसले युवतीको अस्मिता जोगाउन खुकुरी नचाए..


शेयर गर्नुहोस:

4.8k
Shares

  • change font
  • change font
  • change font

चितवन । सुन्दा कथाजस्तै लाग्छ । घटनाको विवरण सुन्दैमा पनि ज्यान थर्थरी काँप्छ । त्यही कहालीलाग्दो सत्य घटना जसले एउटा बहादुर गोर्खालीले इतिहास रचे । सेवा निवृत्त भइसकेर पनि पदोन्नतिसहित पुनः नियुक्ति पाए । सेनाको उच्च मेडलमात्र पाएनन्, राष्ट्रपतिबाट ‘उत्तम जीवन रक्षक’ पदक पनि पाए । 
वीर गोर्खाका एक सपूत हुन् पर्वतको विहादी गाउँपालिका वडा नं–१ मा जन्मिएर हाल पोखरा उपमहानगरपालिका वडा नं–६ स्थित लेखनाथमा बस्दै आएका विष्णुप्रसाद श्रेष्ठ । जसले भारतीय सेनाबाट सेवा निवृत्त भई स्वदेश फर्किने क्रममा रेलमा डकैत समूहसँग प्रतिकार गरी एउटी युवतीको अस्मिता रक्षा गरे । 
घटना सन् २०१० सेप्टेम्बर २ तारिखको हो । जब विष्णुप्रसाद श्रेष्ठ १७ वर्ष भारतीय सेनामा सेवा निवृत्त भएर स्वदेश फर्किने क्रममा राँचीबाट झरखण्ड जाने ‘मौरिया एक्सप्रेस’ रेलमा यात्रा गरिरहेका थिए । रातको १२ बजेको समयमा ४० जना डकैत समूहले एकाएक रेलको डिब्बाहरुमा कब्जा गर्दै उनी बसेको एसी–३ डिब्बामा प्रवेश गरे । उनी ४७ नम्बर सिटमा रहेका थिए ।

रेलमा यात्रा गरिरहेका यात्रुको गरगहना, मोबाइल, ल्यापटप, नगद र सरसामान लुटिएको थियो । त्रासका कारण सबै स्तव्ध थिए । यसरी लुटिँदा कसैले पनि प्रतिवाद गर्न सकेनन् । जब डकैत समूहले उनको छेवैको सिटमा रहेकी १८ वर्षीया युवतीलाई उनकै अभिभावकको अगाडि नै बलात्कारको प्रयास गरे । उनको धैर्यताको बाँध फुट्नै लागेका बेला ती युवतीको चित्कार श्रेष्ठले सुने– ‘भैया मुझे बचाओ’ । यो शब्दले उनको मनमा मानवीय भावना जागृत भयो । उनी भन्छन्, ‘मेरा दिदी–बहिनी थिएनन्, ‘भैया’ सम्बोधनले मलाई साच्चै नै छोयो । मेरो आँखाले एउटी किशोरी लुटिएको टुलुटुलु हेर्न सकेन । मेरो शरीरमा तातो रगत उम्लिएर आयो अनि कम्मरको खुकुरी निकालेर तीन डाँकुलाई छपाछप छप्काइदिएँ । आठ जना घाइते भई रन्थनिएर ढले ।’ 

लगातार आधा घन्टासम्म भिडन्त जारी रह्यो । उनले आफूलाई जोगाउँदै डाँकुसँग प्रतिकार गरिरहे । डाँकुको चक्कु प्रहारबाट उनको बायाँ हातमा गहिरो चोट लाग्यो । युवतीको घाँटीमा पनि सामान्य चोट लाग्यो । डकैत समूहले युवतीको कपडा च्यातिदिएको थियो । उनले सेतो च्यादर ओढाएर सम्मान दर्शाए । रेलभित्रको ‘रियल वार’बाट पराजित भएर डकैत समूह तितरवितर भयो । रेलभित्रको लडाइँका कारण रेल वेस्ट बंगालको चितारञ्जन जंगलमै रोकिएको थियो । श्रेष्ठको बहादुरीबाट युवतीको अस्मिता रक्षा भयो । डकैती गर्ने तीन जनाको इहलीला समाप्त भयो । चितारञ्जन रेल स्टेशनमा आठ घाइते लुटेरालाई प्रहरीले पक्राउ गर्‍यो । 
रेलमा यात्रारत युवती एमबिबिएस अध्ययनरत गरेकी थिइन् । युवतीले श्रेष्ठप्रति आभार प्रकट गर्दै भारतीय प्रमुख मिडियाहरुमा अन्तर्वार्ता दिइन् । भारतीय मिडियाका साथै अन्तर्राष्ट्रिय मिडियाले श्रेष्ठको बहादुरीको प्रशंसा गर्दै ‘न्यूज कभरेज’ गर्‍यो । 
श्रेष्ठको अदम्य साहसको उच्च कदर गर्दै भारतीय सेनाले प्रमोसनसहित आठ वर्ष सेवा अवधि थप गर्दै सेनाको मेडलबाट सम्मान गर्‍यो । भारत सरकारले राष्ट्रपतिबाट ‘उत्तम जीवन रक्षक’ पदकबाट विभूषित गरेको थियो । श्रेष्ठ सुवेदार भई सन् २०१८ मा सेवा निवृत्त भए । अहिले उनी भूपू सैनिकलाई संगठित गर्दै समाजसेवा गरिरहेका छन् ।  

विष्णुप्रसाद श्रेष्ठको साहसिक कार्यको कदरस्वरुप रत्ननगर नगरपालिकाले बुधबार सम्मान गरेको थियोे । सो अवसरमा उनकी धर्मपत्नी सीता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । यसैगरी भूपू सैनिक कल्याणकारी क्लब रत्ननगरले पनि भूपू सुवेदार श्रेष्ठलाई सम्मान गरेको थियो । 
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी भन्छन्, ‘भूपू सैनिक श्रेष्ठले देशकै गौरव बढाउने साहसिक कार्य गरेको र मानवीय हिंसाविरुद्ध प्रतिकार गरेर नेपाल र नेपालीकै शिर उच्च राख्न सफल भएकोले सम्मान गरेका हौँ ।’ 
‘विष्णुप्रसाद श्रेष्ठले अन्तर्राष्ट्रिय छवि कायम राख्न सफल हुनुभयो । नेपाल र भारतबीचको मित्रतालाई थप उचाइमा पुर्‍याउन साहसिक कार्य गर्नुभयो’, उनले भने, ‘जन्मभूमिमा मात्र होइन, कर्मभूमिमा पनि मानवीयता प्रदर्शन गर्दै गुण्डागर्दी निरुत्साहित गर्न सफल हुनुभयो । यो सबै नेपालीको गौरवको विषय हो ।’ समाजमा हिंसाविरुद्ध र अस्तित्व रक्षाका लागि साहसिक प्रदर्शन गर्न जरूरी रहेको उनको भनाइ थियो । 
रत्ननगरका मेयर प्रल्हाद सापकोटाले गौरवको इतिहास बोकेको वीर नेपालीमाझ विष्णुप्रसाद श्रेष्ठले ज्यानको बाजी लगाएर ज्यूँदो इतिहास रचेको र अन्यायविरुद्ध लड्ने साहसी नेपालीका रूपमा वीरता कायम राखेको भन्दै श्रेष्ठको सुखद् जीवनको कामना गर्दै सम्मान व्यक्त गरे । 

Advertisement

शेयर गर्नुहोस:

4.8k
Shares