ह्युस्टन (टेक्सस) – अमेरिकास्थित नेपाली दूतावासको आयोजनामा टेक्ससको डालस, अस्टिन र ह्युस्टनमा घुम्ति कन्सुलर सेवा सम्पन्न भएका छन्। डालास, अस्टिन र ह्युस्टनमा गरेर छ दिनसम्म संचालित घुम्ति कन्सुलर शिविरहरुबाट झण्डै एकहजार जना नेपालीहरुले आफू बसेकै वा नजिकको सहरबाट अत्यावश्यक सेवा प्राप्त गरेको जानकारी हिमालय खबरले पाएको छ। डालासमा डिसेम्वर १५ देखि १७ सम्म तीन दिन चलेको घुम्ती शिवीरबाट पाँचसय १६ जनाले सेवा लिएका थिए भने अस्टिनमा डिसेम्वर १८ र १९ मा दुईदिन चलेको शिविरबाट पनि दुईसय ७७ जनाले सेवा लिएको सम्वन्धित सहरका स्थानीय आयोजकहरुले जनाएका छन् ।
एनआरएनए टेक्सस च्याप्टर र स्थानीय सहरका प्रमुख नेपाली संघ-संस्थाहरुको सहकार्यमा संचालित नेपाली राजदूतावासको कन्सुलर सेवाबाट टेक्ससका मुख्य सहरहरु ह्युस्टन, डालास र अस्टिनका मात्र नभएर वरिपरिका सहरहरुमा बस्ने धेरै नेपालीहरुले स्थानीय स्तरमा नै सेवा पाएका छन्।
ह्युस्टन कन्सुलर शिविर
ह्युस्टनमा हिजो डिसेम्वर २० मा सम्पन्न एकदिने घुम्ति कन्सुलर शिविरबाट एक सय ३४ जनाले पासपोर्ट नवीकरण सेवा पाएका थिए भने १८ जनाले एनआरएन परिचयपत्र बनाएका छन् । विहान १० बजेबाट शुरु भएको कन्सुलर सेवा राती ११ बजेसम्म चलेको स्थानीय आयोजक मध्य एक नेप्लिज एशोसियसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले हिमालय खबरलाई जानकारी गराएकाछन्।
अनलाइन अपोइन्टमेण्ट लिन प्राविधिक कारणले सहज नभएकाले आधाजसो सेवाग्राहीहरु अपोइन्टमेण्ट बिनानै रिचमण्ड एभिन्यूस्थित घुम्ति सेवा केन्द्रमा आइपुगेका थिए। डालास र अस्टिनमा संचालित घुम्ति शिविरबाट सेवा लिन छुटेकाहरु अस्टिन, स्यानएण्टनियोबाट मात्र होइन टेक्सस र अर्कान्साको सीमा- टेक्सर्कानाबाट करिब ५ घण्टा यात्रा गरेर समेत ह्युस्टन शिविरमा पासपोर्ट बनाउन आइपुगेका थिए।
वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावास वा न्यूयोर्कस्थित महावाणिज्य दूतावासबाट मात्र उपलब्ध सेवालाई स्थानीयस्तरमा दिन नेपाली संस्थाहरुले गर्दै आएको अनुरोध अनुरूप नेपाली राजदूतावासले नेपालीहरुको धेरै बसोबास रहेका विभिन्न सहरहरुमा घुम्ति कन्सुलर सेवा संचालन शुरु गरेको हो।
टेक्सस र क्यालिफोर्निया जस्ता ठूला रज्यहरुमा नेपाली दूतावासको स्थायी कन्सुलर सेवा विस्तारका लागि नेपाली संघसंस्थाहरुले निरन्तर माग गरिरहेका छन्। टेक्ससको तिन वटै मुख्य सहरहरुमा सम्पन्न शिविरहरुमा सेवाग्राहीहरुको उल्लेखनीय सहभागिता रहेको अनुभवले पनि निकट भविष्यमा ठूला अमेरिकी सहरहरुमा स्थायी कन्सुलेट स्थापना गर्ने विषयमा नेपाली दूतावासले ध्यान दिनुपर्ने घुम्ति शिविरका स्थानीय आयोजकहरु एनआरएनए टेक्सस च्याप्टर उपाध्यक्ष गंगा शर्मा र एनएएचका प्रथम उपाध्यक्ष द्रोण गौतमले हिमालय खबरलाई बताए।
एनआरएन टेक्सस च्याप्टर, नेप्लिज एसोसियसन अफ ह्युस्टन (एनएएच), क्रियटिभ नेप्लिज सोसाइटी (सिएनएस) र नेप्लिज हेरिटेज युनियन (एनएचयू) सहित ह्युस्टनका अन्य नेपाली संस्थाहरु गुल्मी समाज र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टनले समेत घुम्ति कन्सुलर सेवा संचालन र व्यवस्थापनमा सहयोग गरेका थिए। एनएएच, एनआरएनए टेक्सस च्याप्टर, सिएनएस, एनएचयु र गुल्मी समाजका पदाधिकारी तथा सदस्यहरुले विहान देखि झण्डै मध्यरातसम्म घुम्ति शिविरमा रहेर दूतावासका कर्मचारीहरुलाई सघाएका थिए। घुम्ति शिविरको सेवा प्रवाहमा विद्यालय/कलेजस्तरका युवा स्वयंसेवकहरुको सक्रियता पनि सह्रानीय देखिन्थ्यो।
घुम्ति शिविरमा आइपुगेका सबै सेवाग्राहीहरुलाई राती अबेरसम्म बसेर भएपनि सेवा दिने अधिकतम प्रयास गरिएको आयोजकहरुले बताएका छन्। शिविरमा आएका सेवाग्राहीहरुको ठूलो संख्यालाई मध्यनजर गर्दै ह्युस्टनमा आगामी दिनमा हुने घुम्ति सेवा कम्तिमा दुईदिन गर्न आवश्यक तयारी गर्ने आयोजकहरुले जानकारी गराएका छन्।
“घुम्ति शिविरका कारण पासपोर्ट रिन्यू गर्न डिसी वा न्यूयोर्कसम्म जानु परेन। करिब एकहजार डलर यात्रा खर्च र समय दुबै बचेको छ।”, घुम्ति शिविरमा पासपोर्ट नवीकरण सेवा लिएका अर्घाखाँचीका मोहन आचार्यले हिमालय खबरसंग खुसी हुँदै भने।
पाँचघण्टा ड्राइभ गरेर आमाको पासपोर्ट नवीकरण गर्न आएका सुरज हुन् कि आफू र परिवारको भविष्य सुधार्न जोखिम मोलेर अमेरिका आएका सुदर्शन हुन् सबैको चाहना आफ्नो कामको लागि घण्टौं कुर्नु नपरोस् भन्ने नै थियो। तर केही घण्टा कुरेरै भएपनि स्थानीयस्तर मैं पासपोर्ट बनाउन पाएकोमा धेरै खुसी लागेको छ— एक सेवाग्राहीले अपोइन्टमेण्ट बिना पनि सेवा पाएकोमा हिमालय खबरसंग खुसी व्यक्त गरे।
पाँचघण्टा ड्राइभ गरेर आमाको पासपोर्ट नवीकरण गर्न आएका सुरज हुन् कि आफू र परिवारको भविष्य सुधार्न जोखिम मोलेर अमेरिका आएका सुदर्शन हुन् सबैको चाहना आफ्नो कामको लागि घण्टौं कुर्नु नपरोस् भन्ने नै थियो। तर केही घण्टा कुरेरै भएपनि स्थानीयस्तर मैं पासपोर्ट बनाउन पाएकोमा धेरै खुसी लागेको छ— एक सेवाग्राहीले अपोइन्टमेण्ट बिना पनि सेवा पाएकोमा हिमालय खबरसंग खुसी व्यक्त गरे।
एकै पटक धेरै सहभागीहरु सेवास्थलमा आइपुगेकाले केही सेवाग्राहीहरुलाई सेवा लिन अलि धेरै समय लागेको भएपनि अधिकांश सेवाग्राहीहरु घण्टौं कुरेर भएपनि आफ्नो काम बन्नेमा आशावादी नै देखिन्थे। करिब पाँचघण्टा कुरेका एकजना सेवाग्राही भने ‘अलि छिटो गरिदिए हुने, दिन नै जाने भो’, भन्दै गुनासो गर्दै गरेको पनि देखियो। स्थानीय आयोजकहरुले दूतावासका अधिकारीहरुसंग समन्वय गरेर अबेर रातीसम्म बसेर भएपनि पासपोर्ट बनाउन लाइन लागेको सेवाग्राहीहरुलाई सेवा दिइरहेका देखिन्थे। राती ११ बजेसम्म खटेर भएपनि पर्खेका र आवश्यक कागजात भएका सबैलाई सेवा दिएकोमा दूतावासका अधिकारीहरुको स्थानीय आयोजक र सेवाग्राहीहरुले समेत प्रशंसा गरेका छन्।
अस्टिन कन्सुलर शिविर
टेक्ससको राजधानी सहर अस्टिनमा पनि यही डिसेम्वर १८ र १९ मा घुम्ति कन्सुलर सेवा सम्पन्न भएको छ। दुईदिन संचालित घुम्ति शिविरबाट दुईसय ६६ जनाले राहदानी नवीकरण सेवा लिए भने ११ जनाले एनआरएन परिचय पत्र प्राप्त गरेको थिए। दुतावासको सूचना बोमोजिम अनलाइन अपोईन्टमेण्ट लिएका दुईसय ५८ जनाले सेवा प्राप्त गरे भने अपोईन्टमेण्ट लिन नसकेकाहरु करिब दुईसय जनाले समय अभावका कारण कन्सुलर सेवा लिन नपाएको स्थानीय आयोजकहरुले हिमालय खबरलाई जानकारी गराएकाछन्।
ग्रेटर अस्टिन नेपाली सोसाईटी(ग्यान्स), अस्टिन एभरेष्ट लायन्स क्लब लगायतका स्थानीय नेपाली संस्था र स्वयंसेवीहरुको सहयोगमा घुम्ति कन्सुलर सेवा संचालन भएको ग्यान्सका अध्यक्ष भोजराज भट्टले हिमालय खबरलाई जानकारी बताए।
डिसी स्थित दुतावासबाट द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधारमण दुबे र अधिकृत कुमार श्रेष्ठ सहितको टोलीले टेक्ससका तीन मुख्य सहरहरुमा छ दिनसम्म खटेर घुम्ति कन्सुलर सेवा प्रदान गरेकोमा स्थानीय आयोजक र सहयोगी नेपाली संस्थाहरुले नेपाली दूतावासप्रति आभार प्रकट गरेकाछन्।
प्रतिक्रिया