सान फ्रान्सिस्को – नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ अमेरिकासँगको सहकार्यमा पत्रकारिता सम्मान सुरु गर्ने भएको छ । उत्तर अमेरिकी क्षेत्रमा बसोबास गरि डायस्पोरा नेपालीका मुद्दा र चासो बारे कलम निरन्तर चलाइ रहेका अग्रज पत्रकारलाई नगद सहित पुरस्कृत गर्ने उध्येश्यले उक्त सम्मान सुरु गर्न लागिएको जनाइएको छ ।
पहिलो ‘नेजा-एनआरएनए अमेरिका पत्रकारिता सम्मान’ नेजाको आसन्न १५ औँ साधारण सभामा वितरण गरिने संस्थाका अध्यक्ष विकासराज न्यौपानेले जानकारी दिए । नेजाको दुई दिने साधारण सभा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा आउँदो शनिबार सुरु हुँदैछ । नेपाली डायस्पोराको प्रवर्धन र आत्मसम्मान अभिवृद्धिका लागि निरन्तर कलम चलाउने अग्रज पत्रकारको कदर गर्ने हेतुले यो सम्मान सुरु गरिएको न्यौपानेको भनाइ छ ।
सम्मान पाउने पत्रकारको चयन नेजाले गठन गरेको स्वतन्त्र पुरस्कार छनौट समितिले गर्नेछ । नेजाले बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रमबाट पृथक ख्याती कमाएका पत्रकार नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्सीय छनौट समिति गठन गरेको छ ।
नेजासँग सहकार्य मार्फत विदेशमा रहेका नेपालीबारे निरन्तर कलम चलाउने पत्रकारलाई सम्मान गर्न पाउनु आफुहरुका लागि सुखद कुरा रहेका एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले बताए । यस्ता पहलले पत्रकारहरुलाई पेशागत निरन्तरताका लागि प्रोत्साहन मिल्ने उनको विश्वास रहेको छ । यो सम्मान पाउने पत्रकारलाई नगद दुई हजार एक अमेरिकी डलर सहित सम्मान पत्र प्रदान गरिनेछ । सम्मान राशी बापतको रकम एनआरएन अमेरिकाले वहन गर्नेछ ।
यो सँगै नेजाले हरेक साधारण सभामा वितरण गर्दै आएको सामूदायीक पत्रकारिता पुरस्कार यस बर्ष पनि प्रदान गरिनेछ । आमा फाउन्डेसनको सहकार्यमा प्रदान गरिँदै आएको यो पुरस्कार नेजाको १३ औँ साधारण सभा यता नेपाली भाषामा उत्कृष्ठ समाचार लेख्ने पत्रकारले पाउनेछन् । यो पुरस्कारका लागि आवेदन दिन नेजाले उत्तर अमेरिकी क्षेत्रका सम्पुर्ण पत्रकारहरुलाई आह्वान गरि सकेको छ । एक हजार एक डलर प्रदान गरिँदै आएको यो पुरस्कारको राशी यसै वर्षबाट बढाएर एक हजार ५५५ अमेरिकी डलर पुर्याउने निर्णय गरिएको नेजाका महा सचिव सुरज भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया