मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

शनिबारदेखि एएनएको सम्मेलन : अमेरिका र क्यानडाका नेपालीहरुको ड्यालसमा भेला

शनिबारदेखि एएनएको सम्मेलन : अमेरिका र क्यानडाका नेपालीहरुको ड्यालसमा भेला

शेयर गर्नुहोस:

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को ड्यालस सम्मेलन शनिबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुनका लागि अमेरिका र क्यानडाबाट थुप्रै नेपालीहरु ड्यालसमा जम्मा भएका छन् ।
 
शनिबार बिहान पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कोपेलको फोरप्लाइन्ट सेराटन होटलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको हालसम्मको तयारी र समेटेका विषयहरुका बारेमा जानकारी दिन शुक्रबार एएनएले संक्षिप्त पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
 
सम्मेलनमा एएनएका अध्यक्ष विजयराज भट्टराईले दुई दिनसम्म चल्ने सम्मेलनमा १९ वटा कार्यक्रमहरु समावेश गरिएको जानकारी दिए । तीमध्ये १५ वटा विभिन्न विषयका सेसनहरु छन् । बिहान योगाबाट सुरु हुने कार्यक्रम राति सांगीतिक कार्यक्रमसँगै समापन हुनेगरी तयार पारिएको छ ।
 
फेसन शो, मिसेज एएनए, कन्सर्टदेखि लिएर अमेरिकी मूलधारको राजनीतिमा नेपालीको प्रवेशका विषयमा समेत कार्यक्रमहरु रहेका छन् ।
 
सन् १९८३ मा स्थापना भएको एएनए अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था हो । कार्यक्रममा सहभागी हुनका लागि संस्थापक अध्यक्ष हरिहर शर्मासमेत ड्यालस आएका छन् । 
 
त्यस्तै पूर्वअध्यक्षहरु डा. अम्बिका अधिकारी, रोजर अधिकारीलगायतका नेपाली अमेरिकी समाजका प्रतिष्ठित व्यक्तिहरु ड्यालसमा आइपुगेका छन् । उनीहरुको आगमनले ड्यालसको नेपाली समुदाय निकै व्यस्त भएको छ ।
 
कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्व सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालसमेत आइसकेका छन् । अतिथिहरु आउने क्रम जारी रहेको आयोजकले जनाएका छन् । 
 
पत्रकार सम्मेलनमा हालसम्मको प्रगति र कार्यक्रमका रुपरेखाका बारेमा कार्यसमिति सदस्य अञ्जन श्रेष्ठ, सहआयोजक संस्था नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, मिडिया संयोजक सतिश त्रिपाठी, एनआरएनका उपाध्यक्ष सुमन थापालगायतले जानकारी दिएका थिए । 
 
यसअघि सन् २००५ र २०१२ मा पनि ड्यालसमा एएनएको सम्मेलन भएको थियो । त्यतिखेरभन्दा अहिले नेपालीको संख्या चारगुणाले बढेको छ ।