मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१५ वर्ष जेल बसेर पुनः चारवटा गैँडा मारेको कसुरमा बमबहादुर प्रजा पक्राउ

१५ वर्ष जेल बसेर पुनः चारवटा गैँडा मारेको कसुरमा बमबहादुर प्रजा पक्राउ


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

चितवन । गैँडाको खाग तस्करी गरेको आरोपमा १५ वर्ष जेल जीवन बसेर रिहा भई पुनः गैँडा तस्करीमा लागेका चितवनको कालिका नगरपालिका वडा नं–९ बस्ने ४३ वर्षीय बमबहादुर प्रजा प्रहरीको फन्दामा परेका छन् । 
 
बमबहादुर प्रजा २०६० देखि २०७५ सम्म १५ वर्ष जेल बसेर छुटेका अभियुक्त हुन् । उनीमाथि १७ वटा गैँडा मारेको आरोप प्रमाणित भएको थियो । जुन उनले नै स्वीकार गरेका थिए । प्रजालाई बिहीबार धादिङको जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा नेपाल सेनासहितको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बेनीघाट नगरपालिका–३, मलेखुबाट पक्राउ गरिएको सिआइबी प्रमुख उत्तम सुवेदीले जानकारी दिए । 
 
निकुञ्जको अनुसन्धानबाट पछिल्लो समय २०७७ कात्तिकमा बमबहादुरले चारवटा गैँडा मारेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । आरोपित प्रजाले निकुञ्जको घाँघर क्षेत्र, बहापुर, भोरघाट र मर्दिघोल क्षेत्रमा गैँडाको चारीसिकार गरेको निकुञ्जले जनाएको छ ।

गत असार १३ गते पक्राउ परेका चारवटा गैँडा मारी खाग तस्करी गरेको आरोप लागेका अर्का आरोपित रामकुमार प्रजा र बमबहादुरलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले निकुञ्जलाई बुझाएको छ । आरोपितहरुलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइने निकुञ्जको कार्यालयले जनाएको छ ।

Advertisement
 
यसअघि गैँडा मारेर खाग तस्करी गरेको अभियोगमा रामकुमार प्रजा १० वर्ष जेल बसेर छुटेका हुन् । उनी २०६० देखि २०७० सम्म जेल बसेर रिहा भएका थिए । जेलबाट छुट्नासाथ उनीहरु फेरि गैँडाको खाग बेच्ने धन्दामा सक्रिय भएको अनुसन्धानबाट थाहा भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
 
प्रहरीले रामकुमार प्रजाको भाइ कुख्यात गैँडा तस्कर राजकुमारलाई प्रहरीले २०७१ मा मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । राजकुमारले २८ वटा गैँडा मारेको कसुरमा जिल्ला कारागार चितवनमा कैद भुक्तान गरिरहेका छन् ।

शेयर गर्नुहोस:

162
Shares