ड्यालस (अमेरिका) – अमेरिकामा रहेका नेपाली समुदायको अग्रसरतामा स्थापना भएको वित्तीय संस्था ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ ले संस्थाको साधारण सभा आउँदो नोभेम्बर २० तारिक टेक्ससमा गर्ने भएको छ ।
साधारण सभाका बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्वेश्यले आइतबार टेक्ससको युलेसमा संक्षिप्त भेटघाट कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारीहरुले स्थापनाको उद्वेश्य र यसले विगत तीन वर्षमा हाँसिल गरेको प्रगति एवं संभावनाका बारेमा चर्चा गरेका थिए ।
सन् २०१८ मा स्थापना भएको युनियन नेपाली समुदायद्वारा, नेपाली समुदायकै लागि स्थापना भएको वित्तीय संस्था हो । सानो पूँजी भएका नेपाली व्यबसायीहरुलाई प्रवद्र्धन गर्ने उद्वेश्य लिएर स्थापना भएको यो संस्था अहिले न्यूयोर्कमा मात्र सेवा प्रदान गरिरहेको छ ।
संस्थाका शेयरधनीहरु न्यूयोर्क बाहिरका भएपनि न्यूयोर्कमा केन्द्रित हुँदै आएकोमा आगामी दिनमा टेक्ससमा शाखा सञ्चालन गर्ने योजना रहेको कार्यकारिणी समितिका अध्यक्ष मोहन ज्ञवालीले जानकारी दिए । टेक्ससमा सदस्य विस्तारका साथै शाखा स्थापना गर्ने लक्ष्यका साथ आउँदो नोभेम्बर २० तारिक साधारण सभा गर्न लागिएको हो ।
यो संस्थाको बोर्ड चेयरमा डिल्लीराज भट्ट छन् । त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा विराज रिजाल छन् ।
अमेरिकामा सानो व्यबसाय गर्नेलाई समुदायले स्थापना गरेको क्रेडिट युनियनलाई फेडरल क्रेडिट युनियनले समेत सहयोग गर्दै आइरहेको छ । एभरेष्ट फेडरलको सदस्य विस्तार गरेसँगै पूँजी समेत वृद्धि हुने भएकोले व्यापक रुपमा समुदायमा जान सहज हुने आयोजकहरुले बताएका छन् ।
क्रेडिट युनियन बैंक जस्तै संस्था हो । यसलाई नियमन गर्न अमेरिकी सरकारले निकै कडा कानुन बनाउनुका साथै नियमित रुपमा सुपरिवेक्षण समेत समेत गर्ने भएकोले डुब्ने, वचतकर्ताको रकम हिनामिना हुने संभावना नहुने संस्थाका पदाधिकारीहरुले बताएका छन् । यो संस्थामा कम्तिमा २५ डलरमा खाता खोल्न सकिने र खाता खोल्नेहरु सबै स्वतः सदस्य हुने प्रावधान छ । खातावालहरुलाई दामासाहीले मुनाफा समेत वितरण हुनेगर्छ ।
एभरेष्ट फेडरल क्रेडिट युनियनले चेकबुक, डेबिट तथा क्रेडिट कार्ड समेत जारी गर्ने तयारी गरिसकेको छ ।
कार्यक्रममा संस्थाका बोर्ड अफ डाइरेक्टर राम सी पोखरेलले युनियनले २५ डलरसम्म कर्जा प्रवाह गर्न सक्ने क्षमता रहेको जानकारी दिए । हरेक सदस्यहरुले तीनहजार डलर जम्मा गरेर संस्था स्थापना गरिएको समेत उनले बताए ।
नेपाली समुदायबीच संस्थालाई व्यापक रुपमा लैजान नसक्नुलाई कमजोरीका रुपमा स्विकार्दै संस्थाले आउँदा दिनमा हरेक नेपालीलाई सदस्य बनाउने गरि योजना अघि सारेको छ ।
प्रतिक्रिया