मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अमेरिकामा तारे होटल सञ्चालनमा जमेका जगन्नाथ शर्मा

अमेरिकामा तारे होटल सञ्चालनमा जमेका जगन्नाथ शर्मा


भर्जिनिया (अमेरिका) । अमेरिकाको राजधानी वासिङ्टन डिसी जाने अन्तर्राष्ट्रिय एयरपोर्टनजिक वइन्डम चेनअन्तर्गत रहेको विनगेट तारे होटलमा कुनै फुर्तिलो कर्मचारी देख्नुभयो भने शर्माजी भनेर बोलाए हुन्छ ।
 
उनी १३२ कोठा भएको उक्त होटलका जनरल म्यानेजर जगन्नाथ शर्मा हुन् । नेपालका पाँच तारे सोल्टी, एभरेष्ट र त्यहीपछि भैरहवामा निर्वाण होटलमा झण्डै एक दशक काम गरेपछि शर्मा अमेरिका आएका थिए ।
 
अमेरिकामा पनि तारे होटलका विभिन्न पदमा काम गरेको अनुभव पछि शर्मा डिसी नजिकको अन्तर्राष्ट्रिय एयरपोर्टनजिकको विनगेट होटलमा जिएमका रुपमा सक्रिय छन् ।
 
होटल कहिल्लै बन्द हुँदैन । तर, यो छोटो समयमा नाफा निकालेर बाहिरिन्छु भन्ने व्यवसाय पनि होइन, शर्माको होटल क्षेत्रमा लामो अनुभवको निष्कर्ष यही हो ।
 
‘होटलमा लगानी गर्दा बुझ्नुपर्ने लङ्गटर्म, लङ्गटर्म र लङ्गटर्म नै हो । छिटो नाफा लिन्छुभन्दा होटल बिग्रन्छ’, शर्मा भन्छन्, ‘काम होटल सञ्चालनलाई काम चलाउ हिसाबले लिनु हुँदैन ।’
अमेरिकामा होटल व्यवसायमा लगानी गर्ने नेपालीको संख्या बढ्दो छ । होटलमा लगानी गर्न चाहने नेपालीलाई शर्माको सुझाव छ, ‘होटल किन्दा पहिलो लोकेसन हेर्नु पर्छ । त्यही पछि कति कोठा छन्, रुमबाहेक अरु आम्दानी लिन सकिने सम्भावना छ छैन त्यो पनि हेर्नुपर्छ ।’
 
शर्मा अनुभवका आधारमा भन्छन्, ‘थोरै कोठा भएको पनि होइन करिब १०० वटा जति कोठा भएको होटल लिँदा यसबाट पैसा बनाउन सकिन्छ व्यवसाय विस्तार पनि हुन सक्छ ।’
 
भारतबाट होटल व्यवस्थापन पढाइसकेपछि शर्माले नेपालको सोल्टी होटलबाट काम सुरू गरेका थिए । त्यसपछि काम गर्न काठमाडौँको एभेरष्ट होटलमा गए । एभरेष्ट छाडेपछि लुम्बिनी जाने पर्यटकलाई केन्द्रित गरी खुलेको निर्वाण होटल सञ्चालनको मुख्य जिम्मेवारी शर्माले पाए ।
 
त्यही बेला नेपालका चर्चित होटल व्यवसायीहरु मिलेर चेन होटल खोल्ने तयारी भयो । शर्मा त्यतातिर लागे । तर, नेपालमा माओवादी द्वन्द्वको समस्या बढ्यो । चेन होटल बनाउने महत्त्वकांक्षी योजना पुरा हुन पाएन । त्यसपछि शर्मा अमेरिका प्रस्थान गरे । होटलमा काम गरेको अनुभव थियो । डिसीमा पनि होटल सञ्चालन गर्ने कम्पनीमै जागिर पाए । त्यहीँबाट अमेरिकामा पनि उनको होटल करिअर सुरू भयो ।
 
होटलमा पैसा हाल्न चाहनेलाई सुझाव दिँदै शर्मा भन्छन्, ‘होटल छोटो समयमा नाफा लिने व्यवसाय होइन । तर, होटल कहिल्यै बन्द हुँदैन त्यसैले केही वर्ष पर्खिंदा यहाँबाट पैसा बनाउन सकिन्छ ।’
 
‘होटलको बैंक ऋण तिर्दै गएपछि अरु होटल थप्न सकिन्छ सजिलो हुन्छ अनि नाफा पनि बढ्दै जान्छ’, शर्मा भन्छन्, ‘त्यसपछि थप होटल किन्दै व्यवसाय विस्तार गर्दा पैसा बन्न थाल्छ ।’
 
कस्तो होटल किन्ने ? शर्मा भन्छन्, ‘सकेसम्म रेस्टुरेन्ट, स्विमिङ पुल, सभा हललगायतका संरचना भएको ६० लाखदेखि एक करोडसम्मको होटल किन्दा राम्रो हुन्छ । तर, लोकेसन भने राम्रो हुनुपर्छ ।’
 
‘एयरपोर्ट नजिक छ भने त्यो होटल २४ घन्टा चल्छ । पर्यटक आउने ठाउँ हो भने त्यहीअनुसार व्यवसाय गर्नुपर्छ, चलाउनुपर्छ’, शर्मा भन्छन्, ‘जहाँ भए पनि होटल किन्दा पहिला हेर्नुपर्ने कस्तो भाउ (डिल) छ, भन्ने हो मर्मत खर्च धेरै आउने होटल किन्दा अलि गाह्रो हुन्छ, फुड एण्ड वेभरेज सुविधा पनि भएको होटल किन्दा उपयुक्त हुन्छ यहाँबाट पनि पैसा बनाउन सकिन्छ ।’
‘होटल किनेपछि सबैभन्दा महत्त्वपूर्ण कुरा खर्च बचाउने हो । जहाँ सम्भव छ । त्यहाँ बचाउनुपर्छ, खर्च बचाउन सक्दा आम्दानी बढ्छ’, शर्मा भन्छन्, ‘यसका लागि ठिक्क कर्मचारी र चुस्त व्यवस्थापन चाहिन्छ ।’
 
‘म यो होटलमा आउँदा ५÷६ जना म्यानेजर थिए, कर्मचारी खर्च बढी थियो’, शर्मा भन्छन्, ‘मैले म्यानेजरहरु राखिनँ । ती सबैको काम म आफैँ गर्छु । बरु अरु कर्मचारीको सुविधा बढाइदिएँ । जो काम गरिरहेका छन् उनीहरुलाई सिकाउँदै गएँ । मेरो खर्च पनि कम भयो काम गर्न पनि सजिलो भयो ।’
 
‘होटलको मुख्य खर्च बैंकको किस्ता, कर्मचारीको खर्च, विद्युत् र पानी हो’, शर्मा भन्छन्, ‘खर्च कहाँ बचाउन सकिन्छ त्यो प्रयास गर्नुपर्छ । होटलमा चाहिने अर्को पक्ष दक्ष मर्मत सम्भार गर्ने हेन्डिमेन हो । होटलमा मर्मत सम्भारको समस्या आइ नै रहन्छ । राम्रो हेन्डिमेन छ भने होटल कन्डिसनमा रहन्छ बिग्रन पाउँदैन ।’
 
नेपाल र अमेरिकामा होटल चलाउँदाको फरक के हो ? शर्मा भन्छन्, ‘नेपालमा कर्मचारीको तलब सस्तो छ । त्यसैले सोल्टीजस्ता होटलका कर्मचारीले ग्राहकलाई विशेष सेवा दिन सक्छन् । त्यो अमेरिकामा सबै होटलमा सम्भव छैन ।’
 
कहीँ कतै जाँदा कस्तो होटलमा बस्ने ? शर्माको सुझाव छ, ‘पहिला आफूलाई अनुकुल हुने स्थान र होटल कोठाको मूल्य हेर्नु प¥यो । यसमा अनुकुलमध्ये कुन होटलको रिभ्यु राम्रो छ त्यही छान्ने हो ।’ अहिले पाहुनाले दिने रिभ्युले महत्त्व राख्ने गरेको शर्मा बताउँछन् । ‘नराम्रो रिभ्यु भएको होटलमा पाहुना जान चाहँदैनन्’ शर्मा थप्छन् ।
 
शर्मा भन्छन्, ‘अहिले अधिकांश पाहुनाले मोबाइल फोनबाट हिँड्दाहिँड्दै होटल छान्छन् । पहिलोपटक आउँछन् नराम्रो भए नराम्रो रिभ्यु दिन्छन् ।’
 
होटल चलाउँदा ग्राहकको प्रतिक्रियालाई सबैभन्दा महत्त्व दिनुपर्ने सुझाव शर्माको छ । ‘होटलमा आउने पाहुनाले के भन्छन् त्यसअनुसार होटलमा सुधार गर्दै जानुपर्छ ।
मेरो लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको होटलमा बस्ने ग्राहकले के भन्छन् भन्ने हो’, शर्माले भने ।
नेपालमा चितवन घर भएका शर्माको अब बुटिक होटल खोल्ने महत्त्वाकांक्षा छ । ‘डिसी वरपर नै बुटिक होटल खोल्न पाए हुन्थ्यो भने मेरो चाहना हो’, शर्माले भने, ‘हेरौँ एक दिन पूरा हुन्छ कि !’
 
अहिले धेरै ग्राहकहरु केही फरक देखिने बुटिक होटलतिर आकर्षित भएको शर्माले बताए । शर्मा भन्छन्, ‘पाहुनाहरु बुटिक होटलमा बढी पैसा तिर्न तयार पनि हुन्छन् ।’