मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली विद्यार्थी प्रमोद भट्टराईको ह्युस्टनस्थित अपार्टमेण्टमा मृत्यु

नेपाली विद्यार्थी प्रमोद भट्टराईको ह्युस्टनस्थित अपार्टमेण्टमा मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन – अमेरिका । केही बर्ष यता नेपालबाट अमेरिका पढ्न आएका विद्यार्थीहरु मध्ये कोही न कोहीको मृत्यु भएको खबर सुन्नु परिरहेको छ। यसै बिच टेक्ससको ह्युस्टनस्थित एक अपार्टमेण्टमा साथीहरुसंगै बस्दै आएका २३ वर्षीय प्रमोद भट्टराईको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ। नेपालमा झापा जिल्ला बुद्धशान्ति गाउपालिका घर भएका स्वर्गीय भट्टराई पाँच वर्ष अघि विद्यार्थी भिसामामा अमेरिका आएका थिए।
 
करिब चार वर्ष मृतक भट्टराईसंगै बसेका झापाकै छिमेकी विशाल प्रसाईंका अनुसार स्थानीय स्यान जसिन्टो कम्यूनिटी कलेजबाट एशोसियट डिग्री लिएका भट्टराई हाल एक ग्यास स्टेशनमा कार्यरत थिए। सोमबार साँझ कामबाट फर्केपछि केही महिनादेखि संगै बस्दै आएकी केटीसाथीसंग बार्ब्क्यू गरेर सुतेका भट्टराई अचेत भएको देखेपछि उनै केटी साथीले विशाललाई विहान ४.३० बजेतिर फोन गरेर स्थितिको जानकारी गराएकी थिइन्। “खबर पाउने बित्तिकै म र संगै बस्ने साथी प्रमोदको अपार्टमेण्टमा गयौं र मैले तत्काल आपत्कालीन सेवामा फोन गरें”, विशालले हिमालय खबरसंग भने। तत्काल आएका आपत्कालीन सेवाका कर्मचारीहरुले भट्टराईको केही घण्टा अघि नै मृ्त्यु भइसकेको बताए पछि प्रहरी सहितको फोरेन्सिक टोलीले भट्टराईको मृत शरीरलाई थप अनुसंन्धान र पोस्टमार्टमका लागि लगेको जानकारी विशालले गराएका छन्।
 
सोमवार साँझ देखि टेक्ससमा भएको हिमपातका कारण बढेको अत्यधिक चिसोका कारण प्रमोद र उनकी साथीले बार्बिक्यू गरिसकेर ‘बार्बिक्यू-पट’ कोठा भित्रै लगेर राखेको थाहा भएको छ। मृत्युको एकिन कारण भने पोस्टमार्टम रिपोर्ट नआइसकेकाले थाहा हुन सकेको छैन।
 
मृतक भट्टराईको परिवारका नजिकका व्यक्ति भएकाले परिवारको सहमतिमा स्थानीय सम्पर्क व्यक्ति विशाल प्रसाईसंग स्थानीय नेपालीहरुको संस्था नेप्लिज एसोसिएशन अफ ह्युस्टन (एनएएच) र ग़ैर आवासीय नेपाली संघ, अमेरिकाका पदाधिकारीहरुले समन्वय गरेर स्व. भट्टराईको शवलाई नेपाल पठाउने पहल गरिरहेका छन्। एनएएचका तर्फबाट उपाध्यक्ष द्रोण गौतमले यस कार्यमा स्थानीय संघ-संस्था, परिवारका सदस्यहरु, नेपाली राजदूतावास, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे लगाएतका व्यक्तिहरुसंग समन्वय गरिरहेका छन्।
 
ह्युस्टनमा घटना भएकाले एनएएचले मृतक भट्टराईका परिवारका सदस्यहरुसंग सम्पर्क गर्ने कार्यमा एनआरएनए अमेरिकासंग समन्वय गरिरहेको एनएएचका उपाध्यक्ष गौतमले बताएका छन्। मृतक प्रमोद भट्टराई स्यान जसिन्टो कलेजका पूर्व विद्यार्थी समेत भएकाले सोही कलेजका प्राध्यापक डा. मधु ज्ञवालीले समेत मृतक भट्टराईका बारेमा थप सूचनाहरु संकलन गर्न सघाएको उपाध्यक्ष गौतमले हिमालय खबरलाई जानकारी गराएका छन्।
 
मृतक भट्टराईका नेपालमा रहेका परिवारका सदस्यहरु र स्थानीय सम्मर्क व्यक्ति विशाल प्रसाईं समेतको आग्रहमा एनएएचले भट्टराईको शव नेपाल लैजाने खर्च व्यवस्थापनका लागि गोफण्डमी एकाउण्ट खोलेको छ।
 
‘एनएएचका अध्यक्ष डा. विष्णु नेपाल र एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहको सहमतिमा गोफण्डमी एकाउण्ट खोलिएको हो—सहयोग अभियानमा निकै सक्रिय द्रोण गौतमले भने।
 
अमेरिकामा रहेका झापालीहरुको संस्थाका तर्फबाट पर्शुराम दाहालले पनि भट्टराईको शव नेपाल पठाउने अभियानमा सहयोग संकलन शुरु गरिसकेकाले संकलित रकमलाई एनएएचको सहयोग खातामा नै पठाउने जानकारी प्राप्त भएको छ। झापाली समाजसंग समन्वय गरिरहेका ह्युस्टनस्थित वरिष्ठ पत्रकार एवं एनएएचका सल्लाहकार तारा बरालले झापाली समाज र एनएएच दुबैले संकलन गरेको रकम एनएएचमा जम्मा गरेर शव व्यवस्थापनका लागि एकमुष्ठ खर्च गर्ने र बाँकी रकम परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्न सुझाएका छन्।
 
यो समाचार तयार पार्दासम्म एनएएचको अगुवाईमा खोलिएको गोफण्डमी सहयोग खातामा १२ घण्टा भित्रै लक्ष्य ($१५,०००) भन्दा बढी १६ हजार डलर बढी रकम जम्मा भएको छ भने पर्शुराम दाहालले समन्वय गरेको सहयोग खातामा पनि करिब ३,६०० रकम जम्मा भइसकेको छ।
 
स्व. भट्टराईको शव नेपाल पठाउने अभियानमा सहयोग पुऱ्याउन एनएएचले खोलेको गोफण्डमी लिङ्कमा गएर सक्दो सहयोग गर्न एनएएचले नेपाली समुदायलाई अपील गरेको छ।

सहयोग गर्नको लागि तलको गोफण्डको लिंकलाई क्लिक गर्नु होला;