काठमाडौँ । मानव बेचविखनका घटनामा सबैभन्दा बढी म्यानपावर तथा परामर्शदाताको संलग्नता हुने गरेको एक अध्ययनले देखाएको छ ।
महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन)ले वर्ष २०७५ भित्र विभिन्न सञ्चार माध्यममा प्रकाशित बेचविखनसम्बन्धी समाचार सामग्रीको अध्ययनमा बेचविखनको घटनामा ३३ प्रतिशत म्यानपावर व्यवसायी र परामर्शदाताको संलग्नता रहेको पाइएको छ ।
बेचविखनको घटनामा गैरनेपाली नागरिकको पनि बाक्लो संलग्नता रहेको प्रतिवेदनले औँल्याएको छ । २७ प्रतिशत बेचविखनको घटनामा भारतीय नागरिकको संलग्न रहेका थिए भने छिमेकीको संलग्नता १२ प्रतिशत घटनामा रहेको थियो ।
प्रेमी र श्रीमान, विश्वासिलो साथी तथा कुनै चिनजानमा नरहेको व्यक्ति पनि बेचविखनमा संलग्न भएको पनि प्रतिवेदनमा उल्लेख छ । ६ प्रतिशत घटनामा प्रेमी र श्रीमानको संलग्नता पाइएको थियो । २ प्रतिशतमा साथी तथा अन्य ३ प्रतिशत घटनामा दलाल संलग्न भएका थिए ।
अध्ययन प्रतिवेदनले सीमापार मात्रै होइन आन्तरिक रुपमा पनि बेचविखनको अवस्था भयावह रहेको देखाएको छ । सीमापार लगेर बेचबिखन गरिएका घट्ना ५४ प्रतिशत, वैदेशिक रोजगारीसँग सम्बन्धित २६ प्रतिशत र आन्तरिक ओसारपसार तथा बेचबिखनसँग सम्बन्धित ८ प्रतिशत थिए ।
यसैगरी मानव अङ्ग बेचविखनसँग सम्बन्धित घटना ९ प्रतिशत थिए तर ३ प्रतिशतमा कस्तो प्रकारको बेचबिखनको हो भन्ने उल्लेख थिएन ।
बेचविखनमा परेकामध्ये ५१ प्रतिशत यौन शोषणमा प्रयोग गरिएको पाइएको थियो । यस्तै ३५ प्रतिशत श्रम शोषण, ९ प्रतिशत मानव अङ्ग बेचविखन र ५ प्रतिशतल बौद्ध धर्म दर्शन पढ्न वा लामा बनाउने आशय ओसारपसार गरिएकासँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित समाचारमा बेचविखनको मुख्य कारणका रुपमा गरिबी रहेको पाइएको छ । बेचविखनका कारणमा गरिबी र दयनीय आर्थिक अवस्था भन्नेमा ३७ प्रतिशत, रोजगारीको अभाव तथा राम्रो कामका लागि भन्नेमा ३७ प्रतिशत तथा विवाहका लागि भन्नेमा १६ प्रतिशत थियो ।
यसैगरी मानव अङ्ग बेचविखनका लागि र पढाइदिन्छु भनेर १६ प्रतिशत तथा २ प्रतिशत घट्नामा पारिवारिक बिग्रहलाई कारण मानिएको प्रतिवेदनमा जनाइएको छ ।
सोही अवधिमा मानव बेचविखनसँग सम्बन्धित समाचार प्रकाशनका क्रममा आचारसंहिताको पूर्णपालना नभएको प्रतिवेदनमा उल्लेख छ । आचारसंहिता पूर्णपालना गरेका समाचार १९ प्रतिशत थिए ।
२४ प्रतिशत समाचारमा प्रभावितको सक्कली नाम छापिएको थियो भने ४५ प्रतिशत समाचारमा सहायक परिचय (घर, ठेगाना वा आमाबाबुको नाम) प्रकाशित गरिएको थियो । ९ प्रतिशतमा भने नक्कली नाम थियो तर ३ प्रतिशतमा त प्रभावितको फोटो नै छापिएको पाइएको थियो ।
बेचविखनमा पर्नेमा सबैभन्दा बढी तामाङ समुदायबाट ३१ प्रतिशत तथा ब्राम्हण र क्षत्री समुदायबाट २० प्रतिशत र दलितबाट १७ प्रतिशत थिए । यसैगरी मधेशी समुदायबाट ८ प्रतिशत, राई समुदायबाट ९ प्रतिशत, मगर समुदायबाट ६ प्रतिशत तथा मुस्लिम, शेर्पा र चौधरी समुदायबाट ३–३ प्रतिशत प्रभावित भएका प्रतिवेदनमा समावेश गरिएको छ ।








प्रतिक्रिया