मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर–मेघौली सडक डेढ वर्षमा पनि बनेन्

भरतपुर–मेघौली सडक डेढ वर्षमा पनि बनेन्


चितवन । भरतपुर–रामपुर–मेघौली सडक मर्मतको परियोजना सम्झौता भएको झण्डै डेढ वर्ष भए पनि काम सुरू भएको छैन । सडक निर्माणको काम नभएपछि यात्रुले सास्तीबाट मुक्ति पाउन सकेका छैनन् । अब परियोजना सकिन एक वर्षमात्र बाँकी छ  तर पनि सडक निर्माणको कुनै छाँटकाँट नदेखिएपछि पश्चिम चितवनका बासिन्दा समस्याको भूमरीमै बस्नुपर्ने बाध्यता छ ।  
 
भरतपुर–मेघौली सडक दुई वर्ष चार महिनाभित्र निर्माण गर्ने भनी भारतीय कम्पनी एआई टिएल र नेपाली कम्पनी शैलुङ कन्ट्रक्सनले सम्झौता गरे पनि डेढ वर्षसम्म भौतिक निर्माणको कुनै पनि काम सुरू भएको छैन । 
 
सम्झौताअनुसार सन् २०१६ को अक्टोबर महिनाभित्र सडक निर्माण सक्नुपर्छ तर अहिलेसम्म भौतिक निर्माणको कार्य सुरू नभएकोले तोकिएको समयमा सकिने सम्भावना देखिदैन । पश्चिम चितवन चनौलीका कृष्णराज पराजुली भन्छन्,‘सडक निर्माण गर्ने भनेको पनि वर्षौ भयो तर अहिलेसम्म निर्माण हुन सकेको छैन ।’
 
सडक पुनर्निर्माण नहुँदा सडकमा ठूलठूला खाल्टा छन् । यसले यात्रुलाई समेत सास्ती भएको छ । 
 
मेघौली सडक निर्माणमा ढिलाइ हुँदा व्यवस्थापिका संसदमा समेत आवाज उठेको छ । संसदमा विकास योजनाको बारेमा भइरहेको छलफलमा सहभागी हँुदै चितवन क्षेत्र नम्बर ४ का सभासद् रामकृष्ण घिमिरेले सडक निर्माण कार्यमा भएको ढिलासुस्तीको आलोचना गरे । 
 
‘सडक निर्माणमा भइरहेको ढिलासुस्तीले अब जनताको धैर्यताको बाँध फुट्नै लाग्यो’, सत्तासीन कांग्रेसकै सभासद् घिमिरेले सदनमा भने,‘सडक निर्माणमा भइरहेको ढिलासुस्तीका बारेमा सरकारको ध्यान जानु जरूरी छ ।’ उनले सडक निर्माणका लागि सम्झौता भए पनि निर्माण पक्षको ढिलासुस्तीका कारण समस्या आएको जनाए ।
 
‘अब सडक निर्माणमा ढिला गर्नु हँुदैन’, उनले भने, ‘सडक निर्माण साह्रै ढिला हुँदै गएपछि यस विषयमा जनताको प्रतिनिधित्व गर्ने व्यवस्थापिका संसदमा आवाज उठाएको हुँ ।’
 
सम्झौताअनुसार भरतपुरबाट १६ किलोमिटर कालोपत्रे सडक निर्माण गर्नुपर्छ । सडक निर्माणका लागि सरकारले भरतपुर रामपुर मेघौली सडक निर्माण परियोजनासमेत गठन गरेको छ । परियोजनाका प्रमुख राजेश दासले सडक निर्माण प्रक्रिया नरोकिएको दाबी गर्छन् । 
 
‘सडक निर्माण कार्य रोकिएको छैन’, उनले भने, ‘अहिले पनि खाल्टाहरुमा मर्मत गर्ने काम जारी छ ।’ उनले सम्झौताको अवधिभित्र सन् २०१६ को अगष्टसम्ममा निर्माण पूरा हुने दाबी पनि गरे ।
 
‘निर्माणको काम सुरू गरेपछि त कति नै समय लाग्छ र’ उनले भने, ‘अहिले पुनर्निर्माणका लागि गर्नुपर्ने पूर्वतयारी र सबै प्रक्रिया सकिएको हँुदा सरासर निर्माण कार्य हुन्छ ।’
 
उक्त सडक नेपाल सरकारको वैदेशिक ऋण परियोजनाअन्तर्गत निर्माण हुन लागेको हो । सडक निर्माणका लागि १८ करोड रूपैयाँलागत लाग्ने गरी बजेटसमेत विनियोजित भइसकेको छ ।