मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपमहानगरपालिकाप्रति खुसी छैनन् नागरिक

उपमहानगरपालिकाप्रति खुसी छैनन् नागरिक


चितवन । स्थानीय विकास मन्त्रालयले सय पूर्णाङ्कमा ८६ नम्बर दिँदै भरतपुर उपमहानगरपालिकाहरूको कार्यसम्पादन मूल्यांकनमा अग्रपंक्तिमा राखेको छ । विशिष्ट श्रेणीमा परेको भरतपुरलाई नगरवासीले भने त्यो तहको मान्न तयार भएनन् । नगरवासीहरुले यहाँबाट पाउने सेवासुविधा, कर्मचारीहरुको कार्यकुशलतालाई अति राम्रो नभएर सन्तोषमात्र माने । सेवाग्राहीसँग गरिएको सर्वेक्षणलाई सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
 
सर्वेक्षणको प्रतिवेदनअनुसार सहभागीहरू नगरपालिकाले गर्ने काम कारबाहीप्रति सन्तुष्ट भएनन् । आईएचआरडी नामक कम्पनीले भरतपुर उपमहानगरपालिकाभित्र बस्ने ५२ जना सेवाग्राही र कार्यालयबाट सेवा लिएर बाहिरिएका ५२ जनाबीच सर्वेक्षण गरेको थियो । 
महिला १२, तीन दलित, जनजाति १७ गरेर नगरभित्रका ५२ जना सेवाग्राहीलाई प्रश्ना सोधेर उनीहरु पाएको सेवासुविधाको बारेमा सन्तुष्ट वा असन्तुष्ट के छन् भनेर सर्वेक्षण गरिएको हो । 
 
प्रतिवेदनअनुसार नगरपालिका कार्यालयको भौतिक अवस्थाका बारेमा ५२ मध्ये २६ जनाले अति राम्रो भने । २४ ले ठीकै र दुईजनाले नराम्रो भने । त्यस्तै सेवा लिन जाँदा अतिरिक्त रकम तिर्नु भयो कि भएन भन्ने प्रश्नमा ४९ जनाले तिरेको छैन भने । तीनजनाले थोरै भए पनि तिरेको बताए । 
 
सेवा लिन जाँदा कर्मचारीको व्यवहार कस्तो पाउनुभयो भन्ने प्रश्नमा ठीकै भन्ने ३६ छन् । सन्तुष्ट भन्ने १० र असन्तुष्ट भन्ने छजना छन् । नगरपालिकाले दिने सेवा ठिकै भन्नेमा ३४, विश्वस्त भन्नेमा १७ र अविश्वसनीय भन्नेमा १ जना छन् । 
 
सरसफाइमा ठीकै पाइयो भनेर उत्तर दिने ३४, धेरै काम भएको छ भन्नेमा १४ र भएन भन्नेमा ४ जना छन् । त्यस्तै, सेवा लिएर बाहिँरिदै गरेका ५२ जना सेवाग्राहीलाई तत्कालै सोधेर तयार पारेको प्रतिवेदनमा पनि ठीकै भनेर उत्तर दिनेको संख्या धेरै रहेको छ । पुरूष ३५ र महिला १७ जना सेवाग्राहीसँग प्रश्न सोधेर अर्को प्रतिवेदन तयार गरिएको थियो ।
 
कर्मचारीको व्यवहारमा ठीकै भन्ने २६ जना भेटिए । २२ ले मिलनसार, ४ ले अभद्र र अमर्यादित भने । तपाइँले यस कार्यालयबाट पाउने समग्र काममा कत्तिको सन्तुष्टि पाउनुभयो भन्ने प्रश्नमा ठीकै भन्ने २८, सन्तुष्ट भन्नेमा १९ र असन्तुष्ट भन्नेमा ५ भेटिएका थिए । 
‘पहिले आउनेले सेवा पनि पहिले नै पाउने नियमको सेवाग्राहीले प्रशंसा गरेका छन्’ सर्वेक्षण गर्ने आईएचआरडीका इन्द्रराज ज्योती पौडेलले भने । तर फोहोर व्यवस्थापन र सडक निर्माणमा धेरै गुनासा रहेको उनले बताए । नारायणी नदीमा फोहोर फाल्ने कार्यले नगरपालिकाको निकै आलोचना भएको उनले बताए । वडा कार्यालयका सचिव भेट्न होटलमा जानु परेकोसमेत गुनासो आएको पौडेलको भनाइ छ ।
 
‘फोहोर मैलाको व्यवस्थापन चित्तबुझ्दो भएन । टोलमा फोहोर जम्मा हुन्छ उठाउन आउँदैनन्’ सार्वजनिक सुनुवाइ कार्यक्रममा हेमराज शर्माले भने,  ‘वडा नागरिक मञ्चले भनेको नगर परिषद्ले काट्छ । पहिला हामीलाई एउटा कुरा गरियो । अहिले आएर कुरा फेरियो’ वडा नं. ६ का वडा नागरिक मञ्चका संयोजक फूलनाथ निउरेले भने ।