काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको टिप्पणी गरेका छन् । पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उनले देशमा असंवैधानिक र गैरकानूनी गतिविधि बढेको बताएका हुन् ।
उनले विगतमा हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तोडफोडबाट लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था कमजोर बनाउने काम भएको आरोप लगाए । त्यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको उनको दाबी छ ।
उनले हाल भय र त्रासको वातावरणको सरकार चलिरहेको बताए । सरकार दमनकारी र प्रतिशोधी व्यवहारसहित फासिवादतर्फ उन्मुख भएको उनको आरोप छ । आर्थिक अवस्था निरन्तर खस्किँदै गएको उल्लेख गर्दै उनले सरकारसँग ठूलो रकम थन्किएर बसे पनि पीडित जनताले राहत समेत पाउन नसकेको बताए । सरकार जनताप्रति उत्तरदायी नभएको उनको आरोप छ ।
उनले भने, ‘अहिले देश राजनीतिक रूपमा एउटा आतंकको छायामुनी, भय र त्रासको वातावरण मुनि, असंवैधानिक, गैरकानूनी क्रियाकलापहरूको पेलाईमा स्वेच्छाचारी शासनको अन्तरगत देश चलिरहेको छ । फासिवाद तर्फ दमनकारी प्रतिशोधी व्यवहार अगाडी बढिरहेको छ । आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ । सामाजिक हिसाबले सामाजिक मूल्य मान्यता खस्किरहेका छन् । समाज अत्यन्तै उल्टो बाटोतिर धकेलिँदै गएको छ । सांस्कृतिक हिसाबले हाम्रो भाषा माथि, हाम्रो संस्कृति माथि, हाम्रो सभ्यता माथि चर्को हमला भइरहेको छ ।’
उनले भने, ‘जनताप्रति अनुत्तरदायी सरकार खर्बौं पैसा जम्मा भएको छ । त्यो खर्बौं पैसा थानको लागेर बसेको छ । पीडितहरू दुःखमा पिल्सिरहेका छन् । त्यो पैसाको पनि प्रयोग भएको छैन । यति समय भइसक्यो केही पनि भएको छैन । केही गर्न सकिन्थ्यो, सरकार परिचालन हुँदा, सरकारले काम गर्दा गर्न सकिन्थ्यो । केही पनि भएको छैन । अथवा जनताप्रति उत्तरदायित्व छैन । शिक्षा बिग्रिँदो छ । स्वास्थ्य स्थितिमा सुधार भइरहेको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसव वेदना सहँदै शिशुलाई जन्म दिनुपर्ने अवस्थामा महिलाहरू गुज्रिनुपरेको छ । अर्थात् वर्णन गरेर साध्य छैन । एउटा पक्षमा होइन, सर्वत्र पक्षमा ।’
उनले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था पनि कमजोर बन्दै गएको बताए । अस्पतालबाट उपचार नपाएर सडकमा प्रसूति हुनुपर्ने अवस्था कायम रहनु स्वास्थ्य सेवाको गम्भीर कमजोरी भएको उनको भनाइ छ । नेपाली भाषा, संस्कृति र सभ्यतामाथि समेत आक्रमण भइरहेको उनको दाबी छ ।













प्रतिक्रिया