काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड दिएका छन् ।
नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका दौरान परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवाको भोटेकोसी बाढीले रसुवागढी नाका बन्द भएको र अहिलेको हिउँदको अवस्थामा चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्ने उल्लेख गरे । अध्यक्ष याङलाई काठमाडौंबाट सबैभन्दा नजिक दूरीमा रहेको तातोपानी नाका तत्काल खोल्नका लागि विशेष जोड दिएका हुन् ।
“तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,” परराष्ट्रमन्त्री खनालले भने, “यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ ।”
उक्त अवसरमा अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी परराष्ट्रमन्त्री खनाल दिए । उक्त अवसरमा दुई पक्षबीच दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षालगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया