काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई थप प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् ।
यमपञ्चकको अन्तिम दिन भाइटीकाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले भाइटीका पर्वसँग जोडिएको पौराणिक मान्यताको स्मरण गर्दै यस पर्वले पारिवारिक सम्बन्ध र आपसी सद्भावलाई विशेष महत्त्व दिने उल्लेख गरेका छन् ।
उनको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवास पुगेको र यमुनाले दाजुलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेको प्रसङ्ग उल्लेख छ ।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न भएका यमराजले त्यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको सन्देशमा जनाइएको छ ।
यही मान्यताअनुसार भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै विधिपूर्वक पूजा गर्ने परम्परा रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
यस अवसरमा दाजुभाइलाई दुबो, मखमली र सयपत्री फूलको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने तथा विभिन्न मिष्ठान्न परिकार खुवाउने प्रचलन रहेको सन्देशमा उल्लेख छ ।
त्यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा तथा उपहार प्रदान गर्ने र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।













प्रतिक्रिया