राजनीति-समाज

पार्टीका कार्यक्रम नागरिकका घरदैलोसम्म पुग्नुपर्छ : विद्वान गुरुङ

पार्टीका कार्यक्रम नागरिकका घरदैलोसम्म पुग्नुपर्छ : विद्वान गुरुङ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

कुश्मा (पर्वत) । नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘क’ क्षेत्रीय कार्यसमितिको आयोजनामा २०८३/०७/२१ गते शनिबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण र नागरिकसँग प्रत्यक्ष जोडिने राजनीतिक संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

Advertisement

गुरुङले नेपाली कांग्रेसका सभापति गगन थापाप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित क्षेत्रीय सभापतिसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोमा तत्कालीन कार्यसमितिलाई समेत धन्यवाद दिँदै उनीहरूको योगदानको प्रशंसा गरे।

पार्टीभित्र हुने आन्तरिक निर्वाचनलाई हारजितका रूपमा लिन नहुने धारणा राख्दै गुरुङले आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्र विभाजन नभई थप एकता र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए। उनले भने, “पार्टीभित्रको आन्तरिक निर्वाचनमा कसैको हार वा जित हुँदैन। वास्तविक हारजित त आम निर्वाचनमा हुन्छ, जहाँ हामी फरक विचार र फरक राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिन्छौँ।”

नेपाल तरुण दलसहित विगत १० वर्ष भ्रातृ संगठनमा रहेर काम गरेको अनुभव सुनाउँदै गुरुङले त्यस अवधिमा आफूले पर्वत जिल्लालाई राष्ट्रियस्तरमा चिनाउने काम गरेको उल्लेख गरे।

आफ्नो राजनीतिक यात्राबारे बोल्दै उनले विगत १० वर्षको अवधिमा देशका विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रमुख तथा उद्योगपतिहरूसँग निकट रहेर काम गर्ने अवसर पाए पनि आफूले कहिल्यै गलत काम नगरेको र जिल्लावासीको शिर झुक्ने कुनै काम नगरेको स्पष्ट पारे।

उनले आगामी दिनमा नेपाली कांग्रेसको संगठनात्मक गतिविधि र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको औँल्याउँदै पार्टी सभापति गगन थापाले अघि सारेको जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक अभ्यासलाई पर्वतमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।

अब पार्टीका कार्यक्रम बन्द कोठाभित्र सीमित गर्ने, औपचारिक कार्यक्रम गर्ने, खादा लगाउने, भाषण गर्ने र फर्किने परम्परालाई अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। त्यसको सट्टा गाउँबस्ती र नागरिकका दैनिक समस्यासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने उनले बताए।

गुरुङले आगामी दिनमा पर्वतका गाउँ तथा वडाहरूमा पुग्दा औपचारिक कार्यक्रममै सीमित नभई एउटा वडामा दुईदेखि तीन दिनसम्म बसेर स्थानीय नागरिकका समस्या, आवश्यकता र गुनासाहरू बुझ्ने तथा ती समस्या समाधानका लागि आफ्नो तर्फबाट प्रमुख भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पार्टीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद र जिम्मेवारीलाई प्रतिष्ठाको विषयभन्दा पनि जनताको सेवामा समर्पित हुने अवसरका रूपमा लिन आग्रह गर्दै संगठन निर्माण, कार्यकर्ताबीचको एकता र नागरिकको विश्वास जित्ने अभियानमा सक्रिय हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा नेपाली कांग्रेसलाई थप सशक्त, जनमुखी र गतिशील बनाउने अभियानमा सबै एकजुट भएर अघि बढ्नुपर्ने सन्देशसमेत दिइएको थियो।