काठमाडौँ । भरतपुर महानगरपालिका–१ स्थित बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आजदेखि सामूहिक गौपूजा सुरू भएको छ ।
हरेक वर्ष तिहारका अवसरमा सामूहिक गौपूजा आयोजना गर्दै आएको परिषद्ले यस वर्ष पनि तीनदिने विशेष कार्यक्रम आयोजना गरेको हो । आजदेखि सुरु भएको कार्यक्रम २४ कात्तिकसम्म सञ्चालन हुनेछ । कार्यक्रममा गौपूजा, गोवर्द्धन पूजा, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गरिनेछ ।
परिषद्का कार्यकारी अध्यक्ष अशोक पोखरेलले गौसेवा, संरक्षण र संवद्र्धनलाई धार्मिक आस्थासँगै जोडेर कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “हामीले आयस्रोतभन्दा पनि यो आफैँमा नितान्त एउटा धर्मसंस्कृतिको रक्षाका लागि गाई, लक्ष्मीपूजा र गोवर्द्धन पूजाको रूपमा अगाडि बढाएका छौँ । भक्तजनहरू यहाँ आएर पूजा तथा गाईका लागि दान गर्न सक्नुहुनेछ ।”
उनका अनुसार परिषदमा अहिले माडीबाट ल्याएर सुरु गरिएको स्थानीय प्रजातिका करिब २८५ देखि ३०० वटासम्म गाई तथा बाच्छाबाच्छी छन् । तर केन्द्रमा गाईलाई दाम्लोले बाँध्ने प्रचलन छैन । उनले भने, “गुरुले बाँध्न हुन्न भन्नुहुन्थ्यो, त्यही भएर बाँधिएको छैन । हामीसँग अहिले साना बाच्छाबाछी गरेर ३०० हाराहारीमा सो प्रजातिका गाईहरू हुनुहुन्छ ।”
राष्ट्रगुरु योगी नरहरिनाथको पहलमा विसं २०४२–४३ तिर गौसंरक्षणको काम सुरु भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले गौसेवा तथा संरक्षणमा दाताहरूको योगदान महत्त्वपूर्ण रहेको बताए । उनले तीनदिने कार्यक्रममा भक्तजनको सहभागिताबाट गाईको आहार तथा पोषण व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
अध्यक्ष पोखरेलले भन्नुभयो, “यो विशेष बृहत् कार्यक्रममा धेरै जनाको उपस्थिति भएर गाईका लागि पनि केही रकम सङ्कलन हुन्छ कि अथवा पोषण र आहारका लागि केही व्यवस्था गर्न सकिन्छ कि, तीन दिनको प्रयासबाट वर्ष दिनको आहार जुट्न सक्ने परिस्थिति सिर्जना हुन्छ कि भन्ने सोचेका छौँ ।” गाईको आहार व्यवस्थापनमा सहयोग जुटाउने कार्यक्रमले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
यसवर्ष परिषद्ले मकै र भेलीबाट तयार पारेको विशेष पिँडोे गाईलाई खुवाउने व्यवस्था मिलाइएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तजनले आफूले ल्याएको प्रसाद परिषद्लाई बुझाउने र परिषद्ले उपलब्ध गराएको पिँडो गाईलाई खुवाउने व्यवस्था गरिएको छ ।
परिषद्का संरक्षक शान्तप्रसाद पोखरेलले राष्ट्रगुरु योगी नरहरिनाथको गौसेवा अभियानलाई निरन्तरता दिँदै आएको बताए । उनले भने, “राष्ट्रगुरु योगी नरहरिनाथ स्मरण गर्न चाहेँ, जसले यो विधालाई स्थापित गर्न, यो मात्र विधा हैन नेपालभरिका गौको संरक्षण, संवर्द्धनका लागि खट्नुभयो । त्यो विधामा योगीजीले माडीबाट सात वटा गाई ल्याएर संरक्षण अभियान सुरु गर्नुभएको थियो ।”
संरक्षक पोखरेलले केन्द्रमा रहेका करिब ३०० गाईको पालनपोषण तथा गौसेवामा दानवीरहरूको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले भने, “गौसंरक्षण अभियानभन्दा पनि गौसेवा अभियानमा योगदान पुर्याउनुभएको छ, उहाँहरूको योगदानलाई तपाईंहरूमार्फत राष्ट्रसामु पुर्याउन चाहन्छौँ ।”
समाजसेवी एवं परिषद्का शुभेच्छुकका रूपमा गौसंरक्षणमा सहयोग गर्दै आउनुभएका कैलास कोइरालाले वर्तमान समयमा गौसंरक्षणको महत्व बढ्दै गएको बताए । उनले गौपालनका लागि आवश्यक आर्थिक व्यवस्थापनमा भक्तजनको सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै आर्य धार्मिक पूजाआजामा सहभागी भई गौसेवामा समेत योगदान पु¥याउन सबैलाई आग्रह गरे । भक्तजनको सहभागिताले गौपालन तथा संरक्षण अभियानलाई थप टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । कार्यक्रमअन्तर्गत तीन दिनसम्म दैनिक छ घण्टा भजनकीर्तन गरिने परिषद्ले जनाएको छ ।













प्रतिक्रिया