राजनीति-समाज

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै आर्थिक लेनदेन तथा अनुचित काम नभएको स्पष्ट पारेका छन् ।

सभापति थापाले आज सामाजिक सञ्जालमा श्रव्य सामग्री सम्प्रेषण गर्दै इनम सापकोटासँग जोडिएको भन्दै सार्वजनिक भएको अडियोको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन् । पार्टीको आधिकारिकतासम्बन्धी विषयमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उक्त प्रकरणलाई बदनियतपूर्ण हल्लाको संज्ञा दिए । सभापति थापाले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको पनि बताए ।

Advertisement

प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको श्रव्य सामग्री कहाँ, कहिले, कसले र कुन परिस्थितिमा बोलेको हो भन्ने आफूलाई जानकारी नभएको सभापति थापाले बताए । उक्त अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफूले थप स्पष्टीकरण दिइरहन आवश्यक नभए पनि सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पारेको उनको भनाइ छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको मागसहित भएको विद्रोहका रूपमा व्याख्या गर्दै सभापति थापाले गत वर्ष भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि आफूहरू अघि बढेको बताए ।

पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा आफूहरूले कुनै आर्थिक लेनदेन नगरेको दाबी गर्दै सभापति थापाले एकसुका पनि अनुचित आर्थिक कारोबार नभएको स्पष्ट पारेका छन् ।

“नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,” उनले भने । सभापति थापाले अडियो प्रकरणमा आफूलाई प्रश्न गर्नुभन्दा अनुसन्धान गर्नुपर्ने निकायसँग प्रश्न गर्न सञ्चारमाध्यम र सरोकारवालालाई आग्रह गरे । सापकोटासँग सम्बन्धित विषयमा निष्पक्ष अनुसन्धान गरी त्यसमा संलग्न सबै पक्षको भूमिका खोतल्नुपर्ने उनको भनाइ थियो ।

“अनुसन्धान निष्पक्ष हुनुपर्छ । दूधको दूध, पानीको पानी छुट्टिने गरी छानबिन हुनुपर्छ,” सभापति थापाले भने । अडियो सार्वजनिक भएपछि आफू डराएर राजनीतिक भेटघाटमा लागेको भन्ने प्रचारप्रति पनि उनले आपत्ति जनाए । मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारको विश्वासको मतसम्बन्धी विषय र अन्य राजनीतिक संवादका क्रममा विभिन्न दलका नेताहरूसँग भेटघाट भएको सभापति थापाले स्पष्ट पारे ।

आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक सन्दर्भमा भेटघाट गरेको सभापति थापाले बताए । ती भेटघाटलाई अडियो प्रकरणसँग जोडेर व्याख्या गर्नु उचित नभएको उनको भनाइ थियो ।

सभापति थापाले वर्तमान सरकारले पाँच वर्षका लागि पाएको जनादेशलाई सम्मान गर्ने बताउँदै सरकारले विपद्पछिको पुनःस्थापना, घरबारविहीन नागरिकको व्यवस्थापन, अर्थतन्त्र सुधार, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिए ।