कोलोराडो, अमेरिका । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैँ तथा तिहारको अवसरमा कोलोराडोस्थित रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएमएफएन) ले आयोजना गरेको दसैँ–तिहार विशेष शुभकामना साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाली संस्कृति, परम्परा र आपसी एकतालाई निरन्तरता दिने उद्देश्यले आरएमएफएनले आयोजना गरेको दसैँ–तिहार विशेष कार्यक्रम आइतबार साँझ भव्यरूपमा सम्पन्न भएको हो ।
कोलोराडोस्थित सबै संघसंस्थाको सहभागीतामा वेस्टमिन्स्टरस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित दसैँ–तिहार विशेष शुभकामना साँझमा साङ्गीतिक, सांस्कृतिक, सम्मान, शुभकामना आदानप्रदानसँगै चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रस्तुतिजस्ता कार्यक्रमहरू रहेका थिए ।
आरएमएफएनका सल्लाहकार, आइएनएलएसका बिओटी अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्य तथा हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, वेस्टमिनिष्टरका मेयर Claire Carmella, समाजसेवी डा विजयराज शर्मा, आरएमएफएनका पूर्वअध्यक्ष विनोद त्रिपाठीको उपस्थितिमा उद्घाटन गरेका थिए । रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष हरि गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल र अमेरीकाको राष्ट्रियगानसँगै अगाडि बढेको थियो ।
कार्यक्रममा विश्वका ८० भन्दा बढी देशमा साइकलबाट यात्रा गरी नेपालको नाम विश्वमा फैलाउने साइकलयात्री अजित बराल, चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, संस्था पूर्वअध्यक्ष अर्जुन बगाले, पत्रकार नातिबाबु भट्ट, चन्दादाता, तथा स्थानीय कलाकारहरूलाई खादा लगाइदिइ सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
संस्थाका महासचिव तेजप्रसाद ढकालबाट संचालित कार्यक्रमको पहिलो चरणमा संस्थाका अध्यक्ष हरि गुरूङले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए । त्यसैगरी कार्यक्रमका प्रमुखअतिथि पदम विश्वकर्मा र विशेष अतिथि वेस्टमिनिष्टरका मेयर Claire Carmella ले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाका पदाधिकारीहरूले दर्शकमाझ परंपरागत लोक संस्कृति देउसी प्रस्तुत गरेका थिए । त्यसैगरी ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडोका कलाकार बालिकाहरुले दसैँ गीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा साना कलाकार नानुहरूले परम्परागत पहिरनमा सजिएर सुन्दरनृत्य प्रस्तुत गरेका थिए ।
यसैगरी गायिका सम्झना पाण्डेले सुन्दर प्रस्तुति गरेकी थिइन् । कार्यक्रममा नेपालको पश्चिमी कला संस्कृति रूकुमको सिंगारू (टप्पा) नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो सत्र संस्थाको कल्चर सेक्रेटरी रेखा धौरालीले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रमको अन्त्यमा मातृभूमि नेपालको पर्वतमा जन्मिएका लोकप्रिय लोक तथा लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुति रहेको थियो । ‘सालको पातको टपरी हुनी’, ‘जिम्मल बाको आँगनीमा’, ‘नजाऊ है सानु पँधेरीमा’ जोगीको भेषैमा’, ‘रुमाल हल्लाई हल्लाई’, ‘डाँडै फुर्के सल्लो’ जस्ता लोकप्रिय गीतमार्फत दर्शक–श्रोतामाझ परिचित विश्वकर्माले २,५०० भन्दा बढी गीतमा स्वर दिइ सकेका छन् । कार्यक्रममा उनका जोडदार प्रस्तुतिले सहभागी सबैलाई नचाएको थियो ।
उनले सालको पातको टपरी हुने लगायतका झण्डै एकदर्जन भन्दा बढी आफ्ना चर्चित गीत गाइ श्रोता दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्दै नचाएका हुन् ।
नेपालीभाषीहरू दसैँ–तिहारलाई नेपाली समुदायबीच भेटघाट, शुभकामना आदानप्रदान, आपसी सद्भाव र एकता सुदृढ गर्ने अवसरका रूपमा लिइ कार्यक्रममा सहभागी भएका थिए । कोलोराडोमा रहेका संघसंस्थाका पदाधिकारी, गन्यमान्य, तथा नेपाली भाषी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू परिवारसहित कार्यक्रममा सहभागी भएर पर्वको खुसी साटेका थिए ।
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल कोलोराडोमा रहेका नेपाली भाषी समुदायको पुरानो तथा अग्रणी सामाजिक संस्था हो। संस्थाले स्थापनाकालदेखि नै नेपाली संस्कृति, भाषा, परम्परा तथा सामाजिक सम्बन्धलाई प्रवर्द्धन गर्ने विभिन्न गतिविधि गर्दै आएको छ।
यस्ता कार्यक्रमले कोलोराडोमा रहेका नेपालीहरूलाई एउटै थलोमा भेला भएर आफ्नो संस्कृति र परम्परासँग जोडिन तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउन सहयोग पुर्याउँदै आएको आयोजकको दावी छ ।













प्रतिक्रिया