राजनीति-समाज

देश थप अस्थिरता थेग्न सक्ने अवस्थामा छैन : पूर्वप्रधानमन्त्री डा. भट्टराई

देश थप अस्थिरता थेग्न सक्ने अवस्थामा छैन : पूर्वप्रधानमन्त्री डा. भट्टराई


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले राजनीतिक दलहरूभित्र बढ्दो अन्तरसंघर्ष र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गरेका हुन् ।

Advertisement

उनले सत्तारूढ तथा प्रतिपक्षी दलहरूभित्र चर्किँदो अन्तरसंघर्षसँगै न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगहरूको अवस्थालाई चिन्ताजनक रूपमा चित्रण गरेका छन्। बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा यस्ता समस्याले मुलुकलाई थप संकटतर्फ धकेल्न सक्ने उनको भनाइ छ ।

भट्टराईले अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, प्राकृतिक प्रकोपको बढ्दो भार र युवाहरूको विदेश पलायनलाई पनि मुलुकका गम्भीर चुनौतीका रूपमा औँल्याएका छन्। सार्वजनिक सञ्चार क्षेत्र तथा नागरिक तहमा बढ्दो निराशाले समेत संकटको संकेत गरिरहेको उनको विश्लेषण छ ।

राजनीतिक अस्थिरता र राज्यका निकायहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले अब मुलुकले थप उथलपुथल थेग्न नसक्ने बताएका छन् ।

‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन,’ भट्टराईले लेखेका छन् ।

उनले विद्यमान परिस्थितिप्रति सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै आ-आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

‘सबै आ-आफ्नो क्षेत्रबाट गम्भीर बनौँ। सक्छौँ, सकारात्मक योगदान गरौँ ! सक्दैनौँ, नकारात्मक काम नगरौँ,’ उनले भनेका छन् ।

भट्टराईको अभिव्यक्तिमा राजनीतिक नेतृत्वको आन्तरिक द्वन्द्वसँगै राज्य संयन्त्रको कार्यसम्पादन, आर्थिक अवस्था र नागरिकमा बढ्दो निराशालाई मुलुकका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ। उनले यी चुनौतीको सामना गर्न सबै पक्षको जिम्मेवार भूमिकामा जोड दिएका छन् ।