राजनीति-समाज

कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रिय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

Advertisement

सभापति थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण समेत गरिएको छ ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँको खुलामञ्चमा सम्पन्न १५ औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै, महामन्त्री त्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्र्रौला (पन्त) निर्वाचित भएका थिए। यसैगरी विभिन्न क्लष्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन्। कांग्रेसले चार जना केन्द्रीय सदस्यहरूको भने शपथ रोकेको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले चार केन्द्रीय सदस्यको शपथ रोकेको हो । नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन् । शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्ने भएको छ ।

बैठकले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद ज्ञापनलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।