अमेरिका । विश्वमा रहेका विभिन्न व्यवसायको डिजिटल मार्केटिङ तथा व्यवसाय प्रवर्द्धन गर्ने कम्पनी ‘अल अबाउट बिजनेस एलएलसी’ले हास्यकलाकार तथा सामाजिक अभियन्ताद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ । १३ अक्टोबरमा पेन्सिलभेनियामा एक कार्यक्रम गरी सो घोषणा गरिएको हो ।
कम्पनीले धुर्मुस–सुन्तलीलाई स्वागत गर्दै सहकार्य सफल र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेको छ। “उहाँहरूजस्तो ख्यातिप्राप्त र कहलिएका कलाकारलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गर्न पाउँदा कम्पनी परिवार हर्षित र उत्साहित भएको छ,” कम्पनीका संस्थापक किशोर तिम्सिनाले भने, “यो कम्पनीलाई विश्वव्यापी बनाउन र नयाँ उचाइमा पुर्याउन उहाँहरूको भूमिका महत्त्वपूर्ण हुनेछ।” कम्पनीको मुख्यालय पेन्सिलभेनियाको इरि सहरमा रहेको छ ।
कलाकार सीतारामले पनि आफूहरूलाई ब्रान्ड एम्बेसडर चयन गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन् । “विश्वभर छरिएर रहेका नेपाली उद्यमी तथा व्यवसायीहरूको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसँग जोडिन पाएकोमा हामी खुसी छौँ,” उनले भने ।
अल अबाउट बिजनेसले साना तथा विस्तार हुँदै गरेका व्यवसायको अनलाइन पहिचान बलियो बनाउने, डिजिटल प्रचार बढाउने र सम्भावित ग्राहकसम्म पहुँच विस्तार गर्ने सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीका सहसंस्थापक लुकास इन्द्र सापकोटाका अनुसार व्यावसायिक परामर्श, रणनीति, प्रविधि, मार्केटिङ, विज्ञापन र सामग्री निर्माणलाई एकीकृत रूपमा उपलब्ध गराउनु यसको मुख्य उद्देश्य हो ।
कम्पनीका प्रमुख सेवामा सोसल मिडिया मार्केटिङ, फेसबुक पेज व्यवस्थापन, इन्स्टाग्राम तथा टिकटकका लागि पोस्ट र सामग्री निर्माण, गुगल बिजनेस प्रोफाइल व्यवस्थापन, गुगल विज्ञापन सञ्चालन, वेबसाइट निर्माण र सर्च इन्जिन अप्टिमाइजेसन रहेका छन्। साथै, व्यवसायका उत्पादन तथा सेवामा रुचि राख्ने सम्भावित ग्राहक पहिचान गरी व्यावसायिक अवसर बढाउन सहयोग गर्ने ‘लीड जेनेरेसन’ सेवा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।
आफ्नो परिचयमा १० वर्षभन्दा बढीको व्यावसायिक अनुभव र विशेषज्ञता समेटिएको उल्लेख गर्दै कम्पनीले प्रत्येक व्यवसायको प्रकृति र आवश्यकताअनुसार रणनीति तयार गर्ने बताएको छ । कम्पनीका प्रमुख किशोर १२ वर्षदेखि पेन्सिलभेनियाको इरि सहरमा होमकेयर व्यवसायमा संलग्न छन् । यसको टोलीमा व्यावसायिक परामर्शदाता, रणनीतिकार, डेभलपर, डिजाइनर, विज्ञापन विशेषज्ञलगायत रहने जनाइएको छ ।
डिजिटल माध्यमबाट व्यवसायको पहिचान र ग्राहकसम्मको पहुँच विस्तार गर्ने आफ्नो उद्देश्यमा धुर्मुस–सुन्तलीसँगको सहकार्य उपलब्धिमूलक हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।













प्रतिक्रिया