खेलकुद

ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित

ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ। जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो ।

Advertisement

नेपालका पूर्वकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए । उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे । करण केसीले १६ बलमा चार छक्का र एक चौकासहित ४० रन बनाए । अर्जुन कुमालले ४०, इशान पाण्डे र बसिर अहमदले समान ३७, दीपेन्द्रसिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन जोडे।ओमानका साह फैसल, शाकिल अहमद र करण सोनावालेले समान दुई विकेट लिए ।

२६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो । ओमानका कप्तान विनायक शुक्लाले ८३ बलमा छ चौका र एक छक्कासहित ७७ रन बनाए । जय ओडेराले २५ र जतिन्दर सिंहले १८ रन जोडे । ओमानका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले समान एक विकेट लिए । अब नेपालले जारी शृङ्खलामा शनिबार क्यानडासँग खेल्ने भएको छ ।