कोलोराडो, अमेरिका । आफ्ना दिवंगत छोरा विजय पाण्डेको अन्तिम बिदाइमा सहभागी हुन कोलोराडोवासी नेपालीभाषी समुदायलाई स्व. पाण्डेका बुबाआमाले अपिल गरेका छन् ।
उज्ज्वल भविष्यको सपना बोकेर अमेरिका आएको १८ वर्षीय छोरा विजय पाण्डेको गत अगस्ट २९ मा भएको सडक दुर्घटनामा ज्यान गुमाएपछि उनका बुबाआमा यसरी अपिल गरेका हुन् ।
बूढेसकालको सहारा छोराको अन्तिम बिदाइ गर्न पाण्डेका बुबाआमा नेपालबाट कोलोराडो आइपुगेका छन् । आगामी अक्टोबर ४ मा श्रद्धाञ्जली तथा अन्तिम संस्कार कार्यक्रम आयोजना गरिएको हुँदा उनीहरूले नेपालीभाषी समुदायलाई सहभागिताका लागि अनुरोध गरेका हुन् ।
नेपालको स्याङ्जा जिल्ला, बिरुवा निवासी गणेशप्रसाद पाण्डे र सङ्गीता पाण्डेका जेठा छोरा विजय करिब आठ महिनाअघि मात्र कोलोराडो आएका थिए । उनी गत अगस्ट २९ को राति काम सकेर कोठामा फर्कने क्रममा सडक दुर्घटनामा परेका थिए । अल्पायुमै भएको उनको निधनले परिवार, आफन्त, साथीभाइ र कोलोराडोमा रहेका नेपाली समुदायलाई गहिरो पीडा दिएको छ ।
विजय सानै उमेरमा मेहनत गर्दै आफ्नो र परिवारको भविष्य निर्माण गर्ने सपना बोकेर अमेरिका आएका थिए । तर, देवको लीला अमेरिका आएको केही समयमै भएको दुर्घटनाले उनको जीवनको यात्रा असामयिकरूपमा रोकिएको छ ।
विजयको सम्झनामा ‘In Loving Memory’ कार्यक्रम आगामी अक्टोबर ४, दिउँसो १२ देखि १ बजेसम्म (3900 Magnolia St, Denver, CO 80207) आयोजना हुँदैछ । परिवारले विजयलाई अन्तिम बिदाइ गर्न तथा शोकाकुल परिवारप्रति साथ र सहानुभूति प्रकट गर्न कोलोराडोमा रहेका सम्पूर्ण नेपाली भाषी समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका हुन् ।
परिवारका लागि यो केवल अन्तिम संस्कारको कार्यक्रम नभई आफ्ना प्रिय छोरालाई अन्तिमपटक बिदाइ गर्ने अत्यन्त पीडादायी क्षण हो । यस्तो कठिन समयमा समुदायको उपस्थिति, सहानुभूति र साथले शोकमा रहेका परिवारलाई भावनात्मकरूपमा ठूलो हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।
विजयको अन्तिम दाहसंस्कार सम्पन्न गर्न तथा नेपालमा रहेका परिवारका सदस्यहरूलाई आवश्यक व्यवस्थापन गर्न आर्थिक सहयोग आवश्यक परेकाले सहयोग अभियानसमेत सञ्चालन गरिएको छ । धेरैले सहयोग गरिसकेका छन् ।
परिवारको यो दुःखद् घडीमा साथ र सहयोगको लागि कोही छुटेको भए आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्न सक्नेहरूलाई सहयोग गरिदिन अनुरोध गरिएको छ । आर्थिक सहयोग गर्न सम्भव नभएकाहरूले पनि सहयोग अभियानलाई आफ्ना आफन्त, साथीभाइ र समुदायमा साझा गरिदिन आग्रह गरिएको छ ।
‘सानो सहयोगले पनि शोकमा डुबेको परिवारलाई ठूलो राहत र साथ प्रदान गर्न सक्छ’ भन्ने भावनासहित समुदायसँग सहयोगको अपिल गरिएको छ । विजयको असामयिक निधनले एउटा परिवारले आफ्नो सन्तानमात्र गुमाएको छैन, उज्ज्वल भविष्यको सपना बोकेको एउटा युवा जीवन पनि गुमेको छ । उनको सम्झना परिवार, साथीभाइ र उनलाई माया गर्ने सबैको हृदयमा सधैँ जीवित रहने छ । दिवंगत विजय पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना !












प्रतिक्रिया