राजनीति-समाज

बाढीप्रभावितका लागि सङ्कलित राहतको विवरण सार्वजनिक गर्न आग्रह

बाढीप्रभावितका लागि सङ्कलित राहतको विवरण सार्वजनिक गर्न आग्रह


कोलोराडो, अमेरिका । मातृभूमि नेपालमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितलाई राहत र पुनर्निर्माणका लागि अहिले विभिन्न संघसंस्था, व्यावसाय, सामुदायिक समूह तथा व्यक्तिगतरूपमा सहयोग सङ्कलनको विश्वभर माहोल चलेको छ ।

यस्तो परिस्थितिलाइ मध्यनजर गर्दै कोलोराडोबाट नेपालका बाढीप्रभावितका लागि सङ्कलित सहयोगको विवरण सार्वजनिक गर्न एनआरएनए कोलोराडो च्याप्टरले विज्ञप्तिमार्फत सबैलाई आग्रह गरेको छ ।

Advertisement

च्याप्टरका अध्यक्षद्वय निमा शेर्पा र चन्द्र गुरूङद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो आग्रह गरिएको हो । जारी विज्ञप्ति यस प्रकार रहेको छ ः

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदबाट भएको ठूलो जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) कोलोराडो च्याप्टरले दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, विश्वभरका नेपाली समुदाय, विभिन्न व्यक्ति, व्यवसाय तथा संघसंस्थाहरूले सहयोग गर्दै आएका छन् । कोलोराडोमा पनि विभिन्न व्यक्ति, व्यवसाय, संघसंस्था तथा सामुदायिक समूहहरूले आफ्नै पहलमा आर्थिक तथा भौतिक सहयोग सङ्कलन तथा प्रदान गरिरहेको च्याप्टरले जनाएको छ ।

सहयोग सङ्कलन तथा परिचालनमा पारदर्शिता, जवाफदेहिता, विश्वसनीयता र उचित अभिलेखीकरण कायम गर्ने उद्देश्यले कोलोराडो च्याप्टरले नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि कोलोराडोबाट सङ्कलन तथा प्रदान गरिएको सहयोगको व्यवस्थित अभिलेख राख्ने निर्णय गरेको छ ।

च्याप्टरले सेप्टेम्बर ३०, २०२६ भित्र सहयोग सङ्कलन वा प्रदान गर्ने व्यक्ति, व्यवसाय, संघसंस्था तथा सामुदायिक समूहहरूलाई कुल आर्थिक सहयोग, सहयोग गर्ने पक्षको नाम, सहयोग प्राप्त गर्ने व्यक्ति, परिवार, संस्था वा सम्बन्धित निकायको विवरण तथा रकम वा राहत सामग्री हस्तान्तरण गरिएको प्रमाण उपलब्ध गराउन अनुरोध गरेको छ ।

‘हाम्रो सहयोग, हाम्रो एकता र हाम्रो पारदर्शिता नै विपद् प्रभावितहरूप्रतिको सच्चा मानवीय दायित्व हो’, च्याप्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विवरण [email protected] मा पठाउन सकिने जनाइएको छ ।