काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल लगातार तेस्रो जितका साथ एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा १९० रन बनाउँदा अलआउट भएको थियो । साउदीका अब्दुल वाहिदले सर्वाधिक ७७ रन, मोहम्मद आतिफले ३० रन र मोहम्मद हिशम शेखले १८ रन जोडे ।
नेपालका तर्फबाट कसिलो बलिङ गर्दै कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले पनि ३, ललित राजवंशीले २ र शेर मल्लले १ विकेट हात पारे ।
साउदीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा हासिल गर्यो ।
नेपालको जितमा गुल्शन झाले अविजित ४४ र रोहित पौडेलले अविजित २४ रनको महत्त्वपूर्ण योगदान दिए भने त्यसअघि इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाएका थिए । बलिङतर्फ साउदीका इस्तियाख अहमद र मुहम्मद आतिफले २.२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।
यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको नेपालले समूह विजेता बन्नका लागि समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङको सामना गर्नेछ ।












प्रतिक्रिया