काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र अझै मानिसहरू फसेको हुनसक्ने भन्दै खोज तथा उद्धार कार्य प्रभावकारीरूपमा जारी रहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार भोटेकोशी बाढीसम्बन्धी पछिल्लो जानकारी सार्वजनिक गर्दै लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’ लगायतका आयोजनाका सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार भइरहेको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका छन्। छिमेकी मुलुक, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त उद्धार उपकरण, ड्रोन, लोड क्यारियरलगायतका सामग्री पनि खोज तथा उद्धारमा प्रयोग भइरहेका छन् । नेपाली सेनाका अनुसार शुक्रबार दिउँसोसम्म सेनाका सात र गैरसैनिक छ वटा हवाई उडानमार्फत बाढी प्रभावित विभिन्न क्षेत्रबाट २९ जनाको उद्धार गरिएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले दुई जनालाई जीवितै उद्धार गरेको छ। उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत वीरेन्द्र अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ । खोज तथा उद्धारका क्रममा सोही स्थानबाट एउटा शवसमेत निकालिएको सेनाले जनाएको छ। थप खोज तथा उद्धार कार्य भने जारी छ ।
त्रिशूली–३ ‘बी’मा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी सो क्षेत्रमा पुग्न एक्साभेटर र ‘बोब्काट’ प्रयोग गरेर बाटो बनाउने तथा माटो पन्छाउने काम गरिरहेको छ।
त्यस्तै, ‘अडिट–१’ बाट ४२६ मिटरभित्र प्रवेश गरी खोजी गरिएको छ। अडिट–१ बाट एक्साभेटर छिराउन अपरेटरसहित त्रिशूली–३ ‘ए’सँग लिङ्कअप गराउने कामसमेत भइरहेको सेनाले जनाएको छ।
लाङटाङ हाइड्रोमा नेपाली सेनाका २५ तथा गैरसैनिक दुई जनासहितको संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र प्रवेश गरेको छ। टोलीले सुरुङभित्र दुई वटा शव फेला पारेको र थप खोज तथा उद्धार जारी रहेको जनाएको छ । चिलिमे हाइड्रोमा विदेशी उद्धारकर्मीसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मडपम्प’को सहायताले सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ।
माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ‘र्याफ्ट’ र ‘बोट’ प्रयोग गरेर खोजी गरिरहेको छ। सुरुङभित्र जम्मा भएको पानी फाल्ने कामसमेत भइरहेको सेनाले जनाएको छ।
सरकारका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट १३ हजार ९३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक छन्। करिब पाँच हजार ८३ जना अझै बेपत्ता रहेको र तीमध्ये ३५ देशका करिब ६०० विदेशी नागरिक रहेको सरकारले जनाएको छ।
प्रभावित क्षेत्रबाट हालसम्म एक हजार २८७ वटा शव बरामद गरिएको छ। मृतकको पहिचानका लागि पार्थिव शरीरबाट डीएनए सङ्कलन तथा विश्लेषण कार्यलाई तीव्रता दिइएको छ । भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोली नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी मृतकको पहिचानमा संलग्न भएका छन् ।
सरकारका अनुसार नेपालले भारत, चीन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, जापान, संयुक्त राज्य अमेरिका, कतार, सिङ्गापुर, गणतन्त्र कोरिया, अष्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बङ्गलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलङ्का, थाइल्याण्ड, भियतनाम, न्यूजील्याण्ड, डेनमार्क, स्वीट्जरल्याण्ड, आयरल्याण्ड र चेक गणतन्त्रलगायतका मुलुकबाट राहत तथा उद्धार सहयोग प्राप्त गरेको छ ।
त्यसैगरी युरोपेली सङ्घ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय संस्था तथा अन्य मित्रराष्ट्र र सङ्घसंस्थाबाट पनि विभिन्न प्रकारका सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ ।












प्रतिक्रिया