नेपाल

भोटेकोशी बाढी अपडेट : एक हजार २९० शव फेला, चार हजार ७९८ जना बेपत्ता

भोटेकोशी बाढी अपडेट : एक हजार २९० शव फेला, चार हजार ७९८ जना बेपत्ता


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म एक हजार २९० वटा शव तथा मानव अङ्ग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै चार हजार ७९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म आठ हजार १२७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।

प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यसबाहेक ५३२ वटा आंशिक मानव अङ्ग फेला परेको छ भने दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

Advertisement

फेला परेका शवहरूमध्ये ९२६ वटा शव व्यवस्थापन गरिएको छ । पहिचान खुल्न नसकेका एक हजार १४१ वटा शवको विवरण भने पहिचानका लागि वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ ।

मृतकहरूको पहिचानका लागि डिएनए परीक्षण कार्यलाई तीव्रता दिइएको छ । हालसम्म एक हजार १४३ मृतक र ७१९ जना मृतकका आफन्त गरी कुल एक हजार ८६२ वटा डिएनए नमुना संकलन गरिएको छ ।

बाढीमा परी बेपत्ता हुनेहरूको संख्या चार हजार ७ सय ९८ पुगेको छ । यसमा दुई हजार ८४७ स्वदेशी नागरिक (२,३६९ पुरुष र ४७८ महिला) रहेका छन् भने एक हजार ३५० जनाको विवरण फोनमार्फत प्राप्त भएको छ । यसैगरी, ६०१ जना विदेशी नागरिकसमेत बेपत्ताको सूचीमा रहेका छन् ।

विपद् क्षेत्रबाट हालसम्म कुल आठ हजार १ सय २७ जना घाइते तथा प्रभावितहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये स्वदेशी नागरिक सात हजार ९० जना (४,६५८ पुरुष र २,४७२ महिला) रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ १ हजार १०७ जना (९०३ पुरुष, १५२ महिला र ५२ जना लिङ्ग नखुलेको) को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये हाल ३ हजार ६ सय ३१ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तर्फबाट मात्रै ७ हजार ९ सय ३२ जना जनशक्ति खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन् । कार्यक्षेत्रमा खटिएकामध्ये ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

यसैबीच, विपद् प्रभावित क्षेत्र र आसपासमा सचेतना फैलाउन १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा ४१ हजार ७ सय २६ जना सहभागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी बेपत्ताहरूको खोजी र जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य निरन्तर जारी छ ।