काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्ले मन भक्कानिए पनि सरकारलाई थकान र पीडामा अल्झिएर विश्राम गर्ने वा एकआपसमा बिलौना गर्ने समय नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सङ्कटको यो घडीमा देशको नेतृत्वले आफ्ना पीडा र आँसुमा हराउनेभन्दा नागरिकलाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । आफूहरूको मन पनि शोक र पीडाले भक्कानिएको उल्लेख गर्दै उनले विपत्तिको सामना गर्न अहोरात्र खटिनुको विकल्प नरहेको स्पष्ट पारे ।
‘मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय झनै छैन’, उनले भने, ‘सोही दृढ संकल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लडिरहेका छौँ ।’
आफ्ना सपनाहरू बुनिरहेका नानीबाबु, हाँसो–खुसीका साथ बसिरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको उनले बताए ।
अकल्पनीय विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आफ्ना आफन्त अझै फेला नपरेर बाटो हेरिरहेका नागरिकको पीडा पनि आफूले गहिरोसँग महसुस गरेको बताए।
‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’, उनले भने, ‘बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ ।’
प्रधानमन्त्री शाहले व्यक्तिगत पीडा र भावनाभन्दा माथि उठेर अहिलेको प्राथमिकता नागरिकको जीवनरक्षा, उद्धार, राहत र प्रभावितको पुनःस्थापना भएको बताए । उनले बाढी प्रभावितहरूको जीवनरक्षाका लागि सरकारले गरिरहेको उद्धार, राहत तथा व्यवस्थापनका कामबारे प्रतिनिधिसभालाई विस्तृत जानकारी गराएका छन् ।












प्रतिक्रिया