काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सोमबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा बाढी प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त भौतिक संरचनाको पुनःस्थापना र पुनर्निर्माणका विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराउनुभएको सचिवालयले जनाएको छ।
भेटका क्रममा बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ।
यसअघि बाढी आएको पाँच दिनसम्म प्रधानमन्त्री शाहले अन्य राजनीतिक दल तथा सरोकारवाला पक्षसँग औपचारिक छलफल नगरेको भन्दै आलोचना हुँदै आएको थियो। यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री शाह र सत्तारुढ दलका सभापति लामिछानेबीच भएको भेटलाई विपद् व्यवस्थापन तथा सरकारको आगामी रणनीतिबारे भएको महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ।












प्रतिक्रिया