ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा सरकारलाई साथ दिँदै आवश्यक सुधारका लागि खबरदारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम तथा आगामी योजनाबारे छलफल गर्न शनिबार आयोजित बैठकपछि सभापति थापाले विपद्को समयमा तडकभडकपूर्ण कार्यक्रम तथा सामाजिक मर्यादाविपरीतका गतिविधि नगर्नसमेत निर्देशन दिए ।
‘विपद् व्यवस्थापनका विषयमा सरकारका कमजोरीप्रति ध्यानाकर्षण गराउँछौँ। सरकारले बुझाएको नौबुँदे ध्यानाकर्षण पत्रका विषयमा गम्भीर हुनुपर्छ । संघीय सरकारका निर्दिष्ट जिम्मेवारी समाधान हुनुपर्छ,’ थापाले भने, ‘विपद् व्यवस्थापनका कमीकमजोरीबारे सरकारलाई प्रश्न गर्नुस्, तर असंवेदनशील नहुनुस्। जिम्मेवार र जवाफदेही भएर काम गर्नुस् ।’
विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको थापाले बताए। तीन तहका सरकारबीच स्पष्ट कार्यविभाजन र समन्वय हुन सके मात्र विपद् व्यवस्थापन प्रभावकारी बन्ने उनको भनाइ छ।
उनले संघीय सरकारले तीन तहका सरकारबीच जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उद्धार, राहत तथा पुनःस्थापनाका काममा सरकारले प्रभावकारी समन्वय र सहकार्यलाई प्राथमिकता दिँदै नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य जगदीश्वरनरसिंह केसीले नुवाकोट र रसुवाका नागरिकले अहिले साझा पीडा भोगिरहेको बताए । सेना र प्रहरी उद्धारमा सक्रिय रहे पनि राहत तथा अन्य व्यवस्थापनका क्षेत्रमा अपेक्षित काम हुन नसकेको उनको भनाइ थियो ।
प्रतिनिधिसभामा कांग्रेसकी प्रमुख सचेतक बासना थापाले विपद्ग्रस्त रसुवा र नुवाकोटको स्थलगत भ्रमणका क्रममा महिला तथा बालबालिका थप समस्यामा परेको आफूले पाएको जानकारी दिइन् ।












प्रतिक्रिया