काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । एमाले महासचिव शंकर पोखरेलले नेतृत्व गरेको टोलीले रसुवाको प्रभावित क्षेत्रको अनुगमन गरी तयार पारेको प्रतिवेदन बुझ्ने क्रममा अध्यक्ष ओलीले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको उल्लेख गरे ।
संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा ओलीको भनाइ छ । ‘यो विपत्ति वास्तवमै राष्ट्रिय शोक र पीडाको समय हो । यस्तो बेला जनता मारमा परिरहेका छन्, त्यसैले यसमाथि कसैले पनि राजनीति गर्नु हुँदैन। यो हाम्रो साझा पीडा हो र यसको समाधान गर्ने दायित्व पनि साझा नै हो । सबैले उदारता, दृढता र संयमका साथ सहयोगको हात बढाउनु आवश्यक छ ।’
विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा बढी हुने उल्लेख गर्दै उनले राज्यकोषको परिचालन नागरिकको उद्धार, राहत र पुनर्निर्माण केन्द्रित हुनुपर्ने बताए ।
राजधानी नजिकैको प्रदेशमा घटेको यो घटनाको गहिराइ बुझ्न सहज भएको भन्दै उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा राखे । ओलीले रसुवा बाढीमा एकल प्रयासबाट सरकारले सफलता नपाइने भएकाले राज्य र जनता मिलेर नै समस्या समाधानतर्फ लाग्नुपर्ने बताए ।
‘राज्य र जनता मिलेर यो साझा समस्याको समाधान गर्नेतर्फ प्रयासरत नहुने हो भने श्रेय लिन खोज्नेहरू नै डुब्ने कुरा हो । यो श्रेय पाउने सम्भावना छैन’, उनले भने, ‘एकल प्रयासबाट, रहरले सफलता पाउने विषय होइन ।’
ओलीले रसुवा बाढीलाई राष्ट्रिय समस्याको रूपमा लिनुपर्ने बताए । सरकारलाई आफ्नो दृष्टिकोण सपार्न आग्रह गदैृ उनले यसलाई राजनीतिक विषय नबनाई राष्ट्रिय समस्याका रूपमा बुझेर साझा समाधान गर्न लाग्नुपर्ने उनको भनाइ थियो ।












प्रतिक्रिया