काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपदबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताउँदै उद्धारको प्रतीक्षामा रहेका सबै नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाएका छन् ।
रक्षा बन्धनका अवसरमा शुक्रबार फेसबुकमार्फत विपद् प्रतिकार्यको पछिल्लो विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका हुन्।
‘यस कठिन घडीमा विपदबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्री शाहले भनेका छन्।
उनले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय लिने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको उल्लेख गरेका छन्।
चार हजार ४५१ जनाको उद्धार
प्रधानमन्त्रीका अनुसार रसुवा तथा भोटेकोशी-त्रिशूली करिडोरलगायत बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल प्रहरीका चार हजार ४७३, नेपाली सेनाका छ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना प्रभावित क्षेत्रमा खटिएका छन्।
हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको छ। यसमा जलविद्युत् आयोजनाका सुरुङबाट उद्धार गरिएका १९१ र शुक्रबार हवाई माध्यमबाट उद्धार गरिएका ५१७ जनासमेत छन्।
नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर ‘सटल फ्लाइट’ सञ्चालन गरिएको छ। हालसम्म ९९ वटा हवाई उडान भएका छन्।












प्रतिक्रिया