काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ । बाढीपछि विभिन्न स्थानमा गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म ५५ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये ३१ जना पुरुष र २२ जना महिला छन् । थप दुई जनाको शव फेला परे पनि उनीहरूको पहिचान खुल्न सकेको छैन । भोटेकोसी बाढीबाट सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको प्रहरीले जनाएको छ । चितवनमा ५ महिला र १३ पुरुष गरी १८ जनाको शव फेला परेको छ ।
यस्तै, धादिङमा ११ महिला र ५ पुरुष गरी १६ जनाको मृत्यु भएको छ । नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव फेला परेको छ ।
गोरखामा १ महिला, ६ पुरुष र पहिचान नखुलेका २ जनासहित ९ वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रसुवामा भने १ जना पुरुषको शव फेला परेको छ ।
बाढीमा परी घाइते भएका ९३ जनाको समेत उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ४३ जना, नुवाकोटबाट ४७ जना र धादिङबाट ३ जना रहेका छन् ।
उद्धार गरिएका घाइतेलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा पठाएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा बेपत्ता तथा जोखिममा परेकाहरूको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया